क्रिस्टियानो रोनाल्डोले ह्याट्रिक गरेपछि विश्वकप छनोट अन्तर्गत युरोपियन क्षेत्रको छनोटमा पोर्चुगलले सहज जित दर्ता गरेको छ।
सन् २०१८ को रूसमा हुने विश्वकपका लागि खेलिएको छनोट अन्तर्गत बिहीबार राति भएको खेलमा पोर्चुगलले फारोई आइसल्याण्डलाई ५–१ को फराकिलो अन्तरमा हराएको हो।
घरेलु मैदानमा भएको खेलमा पोर्चुगललाई जिताउन कप्तान रोनाल्डोले खेलको तेस्रो मिनेटबाटै गोलको खाता खोलेका थिए। २९ औं मिनेटमा पेनाल्टीबाट दोस्रो गोल गरेका उनले खेलको ६५ औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरे।
मुलुकका लागि ७८ औं गोल गरेका रोनाल्डोले पाँचौ ह्याट्रिक पुरा गरेका हुन्।
थप गोल विलियम कार्भालोले ५८ औं मिनेट र नेलसन ओलिभेराले ८४ औं मिनेटमा गरेका थिए। आइसल्याण्डको लागि रोग्भी बाल्डभिसनले ३८ औं मिनेटमा सान्तवाना गोल गरे।
गए रातिको जितसँगै युरोपियन क्षेत्रको छनोटको समूह ‘बी’ मा रहेको पोर्चुगलले १८ अंकसहित समूहको दोस्रो स्थानमा छ । स्वीट्जरल्याण्ड २१ अंक जोडेर शीर्ष स्थानमा छ। स्वीट्जरल्याण्डले पनि बिहिबार रातिनै भएको खेलमा एन्डोरालाई ३–० ले हराउँदै शीर्ष स्थानमा कायमै रहेको हो। यो समुहबाट शीर्ष दुई टोलीले रूस विश्वकप खेल्नेछन्।