अखिल नेपाल फुटबल संघ (एन्फा) ले केन्द्रीय कार्यालयमा आइतबार नेपाल फुटबल खेलाडी संघले गरेको तालाबन्दीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
यसअघि खेलाडी संघले तीन बुँदे माग राख्दै तालाबन्दी गरेको थियो।
सार्वजनिक विदाको दिनमा कुनै पूर्व जानकारी र संवादविना अप्रत्याशित रूपमा तालाबन्दी गरिएको तथा बार्ताको ढोका खुला रहँदारहँदै गरिएको कार्यलाई एन्फाले 'निषेधात्मक कार्य' भन्दै खेद व्यक्त गरेको छ।
यसअघि खेलाडी संघले शहिद स्मारक डिभिजन लिगको सन्चालनको निश्चितता गर्दै ए डिभिजनको मिति तोक्नैपर्ने, खेलाडी अक्षय कोषको विस्तृत विवरण (गत वर्ष एकै प्रतियोगिताबाट जम्मा हुनुपर्ने ६५ लाख सहित) दिनुपर्ने र खेलाडीको तलब भत्ता तथा पुरस्कार रकम (सन् २०१७ देखिको पुरस्कार तथा नियमित तलब भत्ता) जुन हालको कार्यसमितिको बैठकबाट पनि पास गरिएको भन्दै तुरुन्त पाउनुपर्ने माग गरेको थियो।
त्यसमा पनि एन्फाले आफ्नो धारण सार्वजनिक गरेको छ। एन्फाको धारणा निम्मानुसार छ:-
- ए डिभिजन लिग सञ्चालन सम्बन्धमाः शहीद स्मारक 'ए' डिभिजन लिग र राष्ट्रिय लिग सञ्चालनका लागि एन्फा, सहभागी क्लबहरू र खेलाडी संघबीच निरन्तर संवाद र समन्वय भइ राष्ट्रिय लिग तय भएको र निर्धारित कार्यतालिका अनुसार राष्ट्रिय लिग सम्पन्न भएको एक महिना पश्चात ए' डिभिजन लिग सुरु गर्न एन्फा पूर्ण रूपमा प्रतिबद्ध रहेको र सोही बमोजिम तयारी भइरहेको जानकारी गराउन चाहन्छौ, तसर्थ खेलाडी संघको माग र त्रिपक्षीय सहमति तालाबन्दीको बीचमा सबै दैनिक प्रशासनिक गतिविधिहरु अवरुद्ध हुन गएको कारण कार्यान्वयन गर्न असम्भव देखिन्छ।
- खेलाडी कल्याण कोष सम्बन्धमाः अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताबाट फाइनल खेलको टिकट बापतको केहि रकम खेलाडी कल्याण कोषमा जम्मा गर्ने निर्णयमा संघ प्रतिबद्ध छ ।
- खेलाडीको पुरस्कार लगायत तलब भत्ता सम्बन्धमाः वर्तमान कार्यसमितिद्वारा घोषित पुरस्कार पूर्ण रुपमा भुक्तानी गरिसकिएको छ। अघिल्लो विभिन्न कार्यसमितिले निर्णय गरि बाँकी रहेका पुरस्कार रकमको सन्दर्भमा आन्तरिक श्रोतबाट भुक्तानी गर्नुपर्ने हुँदा क्रमिक रुपमा आन्तरिक स्रोतको उपलब्धतासँगै भुक्तानी गर्दैजाने संघ प्रतिवद्धता व्यक्त गर्दछ। अन्य तलब भत्ताको सम्बन्धमा नियमानुसार भुक्तानी भइरहेको र भविष्यमा पनि नियमानुसार नै हुने व्योहोरा स्पष्ट पार्न चाहन्छौ।
एन्फाले आफ्नो धारणा सार्वजनिक गर्दै तीन बुँदे माग गर्दै गरिएको तालाबन्दी र माग आफैमा विरोधाभाषपूर्ण भएको पनि बताएको छ।
एन्फाको भनाइ छ, 'संघको केन्द्रिय कार्यालय ताला लगाएर डिभिजन लिग आयोजनाको माग कसरी सम्पन्न गर्न सकिन्छ। बरु तालाबन्दीको कारण जारी राष्ट्रिय लिग नै अवरुद्ध हुन गई सबै एन्फा यू-१८ लिग र एन्फा महिला लिग जस्ता घरेलु प्रतियोगिताहरू मात्र नभइ, अन्तर्राष्ट्रिय स्तरका फिफा सिरिज (महिला), हडकडसँगको मैत्रीपूर्ण खेल, नेपाल र लाओसवीचको एएफसी क्यालिफिकेसन म्याच र साफ यू-२० च्याम्पियनसिप जस्ता अत्यन्तै महत्वपूर्ण प्रतियोगिताहरूको तयारी र आयोजना प्रभावित हुने देखिन्छ।'
खेलाडी संघका अध्यक्ष विक्रम लामाको नेतृत्वमा गएको तालाबन्दीलाई एन्फा आक्रामक समेत भएको छ।
'संघको सदस्य संस्थाको मर्यादा, कर्तव्य, दायित्वभन्दा बाहिर गइ अनुशासनहिन, अराजक गतिविधि तत्काल रोक्न र उल्लेखित तीन बुँदा कार्यान्वयनतर्फ संघ सधैं प्रतिवद्ध रहेको हुदाँ नेपाल फुटवल खेलाडी संघद्वारा लगाइएको तालावन्दी तत्काल खोल्न सम्बन्धित पक्षलाई आह्वान गर्दछौं। अन्यथा तालाबन्दीको निरन्तरको कारण नेपाली फुटबल गतिबिधि रोकिन पुगे यसको जिम्मा र जवाफदेहिता सम्बन्धित पक्ष हुनेछ। साथै अखिल नेपाल फुटबल संघ सार्वजानिक संस्था भएको हुँदा उक्त संघको भौतिक संरचनाको सुरक्षा र दैनिक गतिविधि संचालनमा शान्ति सुरक्षा कायम गरिदिनुहुन नेपाल सरकार र सम्बन्धित सुरक्षा निकायहरु समक्ष अपिल गर्दछौ,' एन्फाको भनाइ छ।