एक सिजनका लागि लोनमा ला लिगा क्लब बार्सिलोना पुगेपछि मार्कस रासफोर्डले आफूलाई 'घरेलु मैदानमा' आइपुगेको जस्तो महसुस भएको बताएका छन्।
२७ वर्षीय रासफोर्ड म्यानचेस्टर युनाइटेडबाट प्रारम्भिक रूपमा १२ महिनाको लोनमा बार्सिलोनासँग जोडिएका हुन्।
क्लबसँग सन् २०२६ मा ३ करोड ३ लाख पाउन्ड (३ करोड ५० लाख युरो) मा यी इंग्ल्यान्ड अन्तर्राष्ट्रिय खेलाडीलाई स्थायी रूपमा अनुबन्ध गर्ने विकल्प पनि हुनेछ।
सन् १९८६ मा ग्यारी लिनेकरपछि बार्सिलोनासँग अनुबन्ध हुने उनी पहिलो इंग्ल्यान्ड पुरुष अन्तर्राष्ट्रिय खेलाडी हुन्।
रासफोर्डले आफ्नो बाल्यकालको क्लब म्यानचेस्टर युनाइटेडका लागि गत डिसेम्बरदेखि खेलेका थिएनन्। प्रशिक्षक रुबेन अमोरिमले उनलाई टोलीबाट हटाएपछि उनले सन् २०२४-२५ को सिजनको आधा समयपछि एस्टन भिल्लामा लोनमा बिताएका थिए।
गत जुलाईमा, उनले क्लब छोड्न चाहेको जानकारी दिने पाँच खेलाडीमध्ये एक भएको पुष्टि भएको थियो।
बार्सिलोनाले क्लबमा रहँदा रासफोर्डको सम्पूर्ण तलब व्यहोर्नेछ। यसका लागि रासफोर्डले आफ्नो तलब घटाउन सहमति जनाएका छन्।
रासफोर्डलाई तलब सूचीबाट हटाउँदा युनाइटेडलाई आगामी १२ महिनामा करिब १ करोड ४० लाख देखि १ करोड ५० लाख पाउन्ड बचत हुने अपेक्षा गरिएको छ।
यसअघि उनलेआफ्नो करियरमा पहिलो पटक प्रिमियर लिग छोडेका छन्।
रासफोर्डले सन् २०१६ मा डेब्यु गरेदेखि म्यानचेस्टर युनाइटेडका लागि ४२६ खेलमा १३८ गोल गरेका छन् र पाँचवटा प्रमुख उपाधि जितेका छन्। युनाइटेडको एकेडेमीबाट उदाएका उनी क्लबको सर्वाधिक गोलकर्ताहरूको सूचीमा १५औं स्थानमा छन्।