नेपाली फुटबल टिमका लागि आइतबार इतिहास बनाउने अवसर छ।
आज राति ८:४५ बजे माल्दिभ्सको राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा हुने साफको फाइनलमा भारतसँग भिड्न लागेको नेपाललाई पहिलो उपाधि जित्ने अवसर छ।
नेपालले साफ च्याम्पियनसिपमा फाइनल खेल पहिलो पटक खेल्न लागेको हो।
भारत साफको सात पटकको च्याम्पियन भएकाले भारतविरूद्ध फाइनल खेल्न नेपालका लागि कठिन हुनेछ।
खेलमा नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी हुनेछैनन्। उनलाई साफले फाइनल खेल खेलाउन प्रतिबन्ध लगाएको छ। साफले प्रतिबन्ध लगाएपछि अलमुताइरीले नियमविपरितको काम भएको भन्दै आफूमाथि अन्याय भएको बताएका छन्।
उनले लिग चरणका दुई खेलमा पहेँलो कार्ड पाएका थिए।
नेपाल र भारतबीच अहिलेसम्म २२ पटक प्रतिस्पर्धा भएको छ। जसमा नेपाल २ खेलमा मात्र विजयी भएको छ। ५ खेल बराबरीमा सकिएका छन् भने १५ खेलमा नेपाल पराजित भएको छ।
जारी साफको समूह चरणमा नेपाल र भारतबीच खेल भएको थियो। जसमा नेपाल १-० गोलले पराजित भएको थियो।
नेपालले भारतलाई सन् २०१३ देखि हराउन सकेको छैन। सन् २०१३ मा नेपालमा भएको साफमा नेपालले भारतलाई २-१ ले पराजित गरेको थियो। त्यसयता भारतविरुद्ध खेलेका ८ मध्ये नेपाल ६ खेलमा पराजित भएको छ भने २ खेल बराबरीमा सकिएका छन्।
सन् १९९३ मा पाकिस्तानको लाहोरमा पहिलो संस्करणको साफ च्याम्पियनसिप भएको थियो। त्यसयता साफका १२ संस्करण सम्पन्न भइसकेका छन्।
१२ संस्करणमध्ये भारतले ७ पटक उपाधि जितेको छ। माल्दिभ्सले दुई पटक उपाधि जित्दा अफगानिस्तान, श्रीलंका र बंगलादेशले एक-एक उपाधि जितेका छन्।
सन् २००५ देखि साफ खेलेको आफगानिस्तानले २०१५ मा अन्तिम पटक साफ खेलेको थियो। अफगानिस्तानले मध्य एसिया फुटबल महासंघमा आबद्ध हुन साफ छाडेको थियो।
नेपाल, पाकिस्तान र भुटानले भने उपाधि जित्न सकेका छैनन्। नेपाल भने पहिलो पटक फाइनल पुगेको छ।
प्रत्येक संस्करणको साफमा नेपालको लक्ष्य उपाधि जित्ने नै हुन्छ। तर मैदानमा नेपाल सफल हुन सकिरहेको छैन।
साफको इतिहास हेर्ने हो भने नेपाल भुटानपछिको कमजोर टिम हो। किनभने नेपाल १२ संस्करणमा एक पटक तेस्रो (१९९३) हुँदा तीन पटक सेमिफाइनलबाट (२०११, २०१३, २०१८) बाहिरिएको छ। त्यसबाहेक ८ संस्करणमा नेपालको चुनौती समूह चरणमै समाप्त भएको छ।