साफ च्याम्पियनसिपमा नेपालले बंगलादेशविरूद्ध गोल फर्काएको छ।
माल्दिभ्समा जारी साफ च्याम्पियनसिप २०२१ मा नेपालले दोस्रो हाफमा गोल फर्काएको हो। पेनाल्टीमार्फत् अन्जन विष्टले ८८ औं मिनेटमा गोल फर्काएका हुन्।
पहिलो हाफमा बंगलादेशका सुमन रेजाले नेपालविरूद्ध नवौं मिनेटमा गोल गरेका थिए।
नेपाली समयअनुसार बुधबार पौने ५ बजेदेखि राजधानी मालेस्थित राष्ट्रिय रंगशालामा खेल सुरू भएको हो। नेपाल र बंगलादेश दुबैले फाइनलका लागि खेल्दैछन्।
नेपालले जीत निकाले वा बराबरीमा सकाए फाइनल पुग्नेछ। यता बंगलादेशले भने खेल जित्नुपर्ने हुन्छ।
अंक तालिकामा माल्दिभ्स ६ अंकसहित शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको पनि ६ अंक छ।
भारत ५ अंक जोडेर तेस्रो र बंगलादेश ४ अंकसहित चौथो स्थानमा छ। १ अंक जोडेको श्रीलंका भने बाहिरिसकेको छ।
आयोजक माल्दिभ्स र भारतबीच राति खेल हुनेछ। खेलमा फाइनलमा पुग्न भारतलाई जित तथा माल्दिभ्सलाई बराबरी आवश्यक हुनेछ।