फिफा विश्वकप २०२२ अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलको विजयी यात्रामा पूर्णविराम लागेको छ।
छनोटमा यसअघि लगातार ९ खेलमा जित हात पारेको ब्राजिल आफ्नो दशौं खेलमा भने बराबरीमा रोकियो।
ब्राजिललाई सोमबार विहान सम्पन्न खेलमा कोलम्बियाले गोलरहित बराबरीमा रोकेको हो।
खेलमा ब्राजिलले अवसर पाए पनि सदुपयोग गर्न सकेन। राफिन्हा, फ्रेड र एन्थोनी पाएका अवसरमा चुकेका थिए।
बराबरीपछि पनि अंक तालिकामा ब्राजिलको अग्रता ९ अंकको छ। शीर्ष स्थानको ब्राजिलले १० खेलबाट २८ अंक जोडेको छ।
दोस्रो स्थानको अर्जेन्टिनाको १० खेलबाट १९ अंक छ। अर्जेन्टिनाले भने आफ्नो दशौं खेलमा उरुग्वेलाई ३-० गोलले पराजित गर्यो।
अर्जेन्टिनाको जितमा कप्तान लिओनल मेसीले ३८ मिनेटमा पहिलो गोल गरे।
डि पाउलले ४४ मिनेटमा अग्रत दोब्बर पार्दा लाउटारो मार्टिनेजले ६२ मिनेटमा तेस्रो गोल गरेका थिए।