साफ च्याम्पियनसिपमा १० खेलाडीमा सीमित बंगलादेशले भारतलाई बराबरीमा रोकेको छ। सोमबार भएको खेलमा बंगलादेशले सात पटकको च्याम्पियन भारतलाई १-१ गोलको बराबरीमा रोकेको हो।
खेलको २६ मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाएका थिए।
५४ मिनेटमा बंगलादेश १० खेलाडीमा सीमित बन्यो। बंगलादेशका विश्वनाथ घोषलाई रेफ्रीले रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएका थिए।
बल अघि बढाइरहेका भारतका लिस्टन कोलाकोलाई फल गरेपछि घोषलाई रेफ्रीले रातो कार्ड देखाएका थिए।
७४ मिनेटमा बंगलादेशका यासिन आराफतले बराबरी गोल फर्काए। उनले कर्नर बलमा हेडमार्फत गोल गरेका थिए।
यससँगै बंगलादेश साफ च्याम्पियनसिपको अंक तालिकामा शीर्ष स्थानमा रहन सफल भएको छ। बंगलादेशले दुई खेलबाट चार अंक जोडेको छ। अघिल्लो खेलमा बंगलादेशले श्रीलंकालाई १-० गोलले हराएको थियो।
साफमा सोमबार राति नेपालले श्रीलंकासँग खेल्दैछ। खेल नेपाली समयअनुसार राति ९:४५ बजे हुनेछ।
नेपालले यसअघि आफ्नो पहिलो खेलमा आयोजक माल्दिभ्सलाई १-० गोलले पराजित गरेको थियो।