फ्रेञ्च क्लब पिएसजीका फरवार्ड लिओनल मेसी घाइते भएका छन्।
पिएसजीका प्रशिक्षक माउरिसियो पोचेटिनोले घाइते भएका कारण आइतबार लियोनविरूद्धको खेलमा मेसीलाई सब्सिच्युट गर्नु परेको जानकारी दिएका छन्।
त्यतिबेला मेसी दुखी देखिएका थिए। तर पोचेटिनोले मेसीको देब्रे घुँडामा समस्या आएकाले सब्सिच्युट गरेको बताए।
अब ३४ वर्षीय मेसीले बुधबार मेजविरूद्धको खेल गुमाउने भएका छन्।
यस्तै आगामी साता हुने युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब म्यानचेस्टर सिटीविरुद्धको खेलमा पनि मेसी खेल्ने पक्का नभएको पिएसजीले जनाएको छ।
'मेसी आफ्नो घुँडामा हेरिरहेका थिए,' पोचेटिनोले भने, 'उनको खेलमा हामी सन्तुष्ट छौं। पहिलो हाफमा राम्रो खेलेका थिए। तर गोल भएन। हामीले उनको घुँडामा समस्या आएपछि सब्सिच्युट गरेका हौं।'
यो वर्ष स्पेनिस क्लब बार्सिलोनाबाट पिएसजी आबद्ध भएका मेसीले क्लबका लागि तीन खेल खेलिसकेका छन्। तर उनले गोल भने गर्न सकेका छैनन्।