फिफा विश्वकप २०२२ अन्तर्गत युरोपियन छनोटमा इंग्ल्यान्ड, बेल्जियम, स्पेन र जर्मनीले फराकिलो जित हात पारेका छन्।
इंग्ल्यान्डले समूह 'आई' को खेलमा एन्डोरालाई ४-० गोलले हरायो।
इंग्ल्यान्डको जितमा लिङ्गार्डले दुई गोल गर्दा केन र साकाले एक एक गोल थपे।
लगातार पाँच जितसँगै इंग्ल्यान्ड १५ अंक जोड्दै शीर्ष स्थानमा छ।
यो समूहको अर्को खेलमा पोल्यान्डले सानमारियोलाई ७-१ ले हरायो। पोल्यान्डको जितमा लेवान्डोस्कीले दुई गोल गर्दा बुस्काले ह्याट्रिक गरे। पोल्यान्ड १० अंक जोडेर दोस्रो स्थानमा छ।
यता बेल्जियमले चेकलाई ३-० गोलले पराजित गर्यो। बेल्जियमको जितमा हजार्ड, लुकाकु र साइलीमाकेरले एक एक गोल गरे। समूह 'ई' मा बेल्जियम १३ अंक जोड्दै शीर्ष स्थानमा छ।
स्पेनले जर्जियालाई ४-० गोलले हरायो। समूह 'बी' को शीर्ष टिम स्पेनले ५ खेलबाट १० अंक जोडेको छ।
जर्मनीले समूह 'जे' को खेलमा आर्मेनियालाई ६-० गोलले पराजित गरेको छ। जर्मनी समूहमा १२ अंक जोडेर शीर्ष स्थानमा छ।