नेपाली राष्ट्रिय फुटबल टिम अहिले पोखरामा छ। आगामी असोज तेस्रो साता हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपाली टिम पोखरामा बन्द प्रशिक्षणमा छ।
साफ च्याम्पियनसिप अघि नेपालले दशरथ रंगशालामा भारतसँग मैत्रीपूर्ण खेल खेल्नेछ। दशरथ रंगशालामा हुने दुई खेल (भदौ १७ र २० गते) हुने तय छ।
साफमा नेपालले पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ। नेपाल र माल्दिभ्सबीच असोज १५ मा पहिलो खेल हुनेछ।
साफको पहिलो खेल नेपालका लागि कठिन हुने नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरी बताउँछन्।
'साफको उद्घाटन खेलमा माल्दिभ्ससँग खेल्दैछौं। यो हाम्रो लागि कठिन खेल हो। किनभने माल्दिभ्स आयोजक हो। साथै डिफेन्डिङ च्याम्पियन पनि हो,' उनले अखिल नेपाल फुटबल संघ (एन्फा) सँग कुरा गर्दै भनेका छन्।
'हामीले अहिलेसम्म ट्रफी जितेका छैनौं। त्यसैले साफ हाम्रा लागि महत्वपूर्ण छ। तर खेलाडीलाई दबाब नदिऔं। यदि साफमा हार्यौं भने मेरो गल्ती हुनेछ। जित्यौ भने सबै श्रेय खेलाडीलाई जानेछ।'
नेपाली टिममा परिवर्तन आएको बताउँदै नेपालसँग वरीयता सुधार गर्ने अवसर भएको उनको भनाइ छ।
'विश्वकप छनोट र अहिलेको तुलना गर्ने हो भने टिममा धेरै परिवर्तन भइसकेको छ। हामीसँग अहिले पर्याप्त समय छ। हामीले विश्लेषण गरिरहेका छौं। सबै खेलाडी तयार छन्। म नतिजाका आधरमा नभइ प्रदर्शनको आधारमा मूल्याङ्कन गर्नेछु। एसियन कपअघि हामीलाई प्रदर्शन र वरीयता सुधार गर्ने मौका छ।'
साफ च्याम्पियनसिपपछि नेपालले आगामी फेब्रुअरीमा एसियन कपको तेस्रो चरणमा प्रतिस्पर्धा गर्दैछ। जसको ड्र हुन बाँकी छ।