अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरबीचको विवादको विषयमा छानविन गर्न गठिन समितिले अर्को साता प्रतिवेदन तयार गर्ने भएको छ।
समितिले बुधबारसम्ममा प्रतिवेदन तयार गरेर राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश सिलवाललाई बुझाउनेछ।
यसअघि परिषदले बोर्ड सदस्य पुनेन्द्रविक्रम लाखेको संयोजकत्वमा ७ सदस्यीय छानविन समिति गठन गरेको थियो। साउन तेस्रो सातादेखि काम सुरू गरेको समितिले एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष नेम्बाङ, प्रशिक्षक अलमुताइरीसहित १४ जनासँग बयान लिएको थियो।
बयानपछि विभिन्न कागजपत्र अध्ययन गरिएको छानविन समितिका सदस्य सुवर्ण श्रेष्ठले बताएकी थिइन्।
समितिले यहि साता प्रतिवेदन बुझाउने भनिएको थियो। तर एन्फा र परिषद्ले प्रतिवेदन सार्वजनिक हुनुअघि नै विवाद मिलाउनका लागि बिहीबार छलफल गरेको थियो।
तर छलफलमा कुनै निकास निस्कन नसकेको छलफलमा सहभागी भएका एक सदस्यले बताएका छन्।
यसअघि पनि वरिष्ठ उपाध्यक्ष नेम्बाङ र अलमुताइरीबीच छुट्टै छलफल भएर विवाद समाधान गर्न विज्ञप्ति निकाल्ने सहमती भएको थियो। तर पछि कुनै विज्ञप्ति निकालिएन।
साउन दोस्रो साता प्रशिक्षक अलमुताइरीले वरिष्ठ उपाध्यक्षका कारण आफू राजीनामा दिन गइरहेको भन्दै फेसबुकमा लेखेका थिए। त्यसपछि उपाध्यक्षले खण्डन गर्दै छानविनको माग गरेका थिए।