खेलकुदको महाकुम्भ हो ओलम्पिक। यसैले हरेक खेलाडीको ओलम्पिक खेल्ने सपना हुन्छ। यसमा सहभागी हुने मात्र खेलाडीको इच्छा हुन्न। सहभागिता जनाउने खेलाडी हरसम्भव पदक चुम्ने प्रयास गर्छ। सपना देख्दैमा र इच्छा हुँदैमा पदक प्राप्त गर्न भने सम्भव छैन।
खेलाडीको आफ्नो मेहनतले मात्र पदक पाउन कठिन छ। यसका लागि राज्यको लगानी आवश्यक छ। नेपाली खेलाडीले सन् १९६४ को टोकियो ओलम्पिकदेखि सहभागिता जनाउन थालेका हुन् । हालसम्म नेपाली खेलाडीले पदक प्राप्त गर्न भने सकेका छैनन्। ओलम्पिक सहभागितामा मात्र सीमित बनेको छ।
सन् १९८८ को दक्षिण कोरियाको सिउलमा भएको ओलम्पिकमा सहभागी कञ्चनपुरका बक्सर विष्णुबहादुर सिंहले भने एउटा बाउट जितेका थिए। सो ओलम्पिकमा उनसँगै डम्बरदत्त भट्ट पनि सहभागी थिए। हाल सुदूरपश्चिम खेलकुद प्रशिक्षण विभागको नेतृत्वमा रहेका ओलम्पियन सिंहले सिउल ओलम्पिकमा पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए।
सोही संस्करणमा सहभागी तेक्वान्दोका खेलाडी विधान लामाले कास्य पदक जिते पनि पनि त्यो बेला तेक्वान्दो प्रदर्शनी खेलका रुपमा मात्र समावेश भएकाले त्यसले पदकको मान्यता पाउन सकेन।
बक्सिङका वरिष्ठ प्रशिक्षक एवं ओलम्पियन विष्णुबहादुर सिंहले सिउल ओलम्पिकको पहिलो खेलमा पाराग्वेका खेलाडीलाई पराजित गरेका थिए। “दोस्रो खेल अमेरिकासित परेको थियो”, उनले भने, “खेल्दै गर्दा दोस्रो राउण्डमा रेफ्रीले खेल नै रोके।”
उनले दोस्रो खेलमा रेफ्री अलमलमा पर्दा आफ्नो खेल अधुरैमा रोकिएको बताए। “रिङको कर्नरमा लगेर प्रहार गरिरहेको थिए।” उनले भने, “रेफ्रीले मलाई खेल्न नसक्ने भन्दै खेल नै रोके।”
उनले ओलम्पिकमा सहभागी हुनुपुर्व दुई महिना थाइल्याण्डमा बन्द प्रशिक्षणमा बसेको बताए। “नेपालबाट बन्द प्रशिक्षणका लागि बक्सिङ खेलका सात जना गएका थियौँ”, सिंहले भने, “दुई जना खेलाडीको स्तर नपुगेको भन्दै नेपाल फर्कादिएको थियो।” उनले नेपाली खेलाडीले पदक जित्ने आशा लिए पनि स्तर भने नपुगेको बताए।
“अरुहरुको चार वर्षे, आठ वर्षे तालिम योजनासहित खेलाडी प्रशिक्षणमा हुन्छन्”, उनले भने, “हाम्रो तालिमको स्तर नै पुग्दैन ।” उनले खेलाडीलाई वैदेशिक प्रशिक्षण तथा अन्तरराष्ट्रियस्तरका प्रतियोगितामा सहभागी गराइराख्नुपर्नेमा जोड दिए।
“हरेक खेलाडीले ओलम्पिक खेल्ने चाहना राख्नसक्छन्”, सिंहले भने, “तर बक्सिङमा हामीपछि अहिलेसम्म नेपाली बक्सर पुग्न सकेका छैनन।”
त्यसैगरी सोल ओलम्पिकमा सहभागी अर्का बक्सर डम्बरदत्त भट्ट नेपाली खेलाडीहरुको स्तर पदक जित्ने अझै भइनसकेको बताए। “अहिले सहभागिता मात्रै होला जस्तो छ”, उनले भने, “योजना बनाएर खेलाडीलाई प्रशिक्षणमा गराउन सकिएको छैन।” उनले खेलाडीलाई सधैँ बन्द प्रशिक्षण आवश्यक रहने बताए।
“उदायमान खेलाडीलाई छुट्टै राखेर अध्ययापनलगायतका प्रबन्ध मिलाउनुपर्छ”, उनले भने, “राष्ट्रियस्तरको प्रदर्शनले मात्रै बाहिरका प्रतियोगितामा पदकको आश गर्नु बेकार कुरो हो ।”
ओलम्पिक यात्राको ५७ वर्षपछि नेपालका पाँच खेलाडी हाल टोकियोमा जारी ३२औँ गीष्मकालीन ओलम्पिकमा प्रतिस्पर्धा गरिरहेका छन् ।
प्रत्येक चार वर्षमा हुने ओलम्पिक यसपटक कोरोना भाइरसको महामारीका कारण एक वर्ष ढिला शुरु भएको हो। कोरोनाका कारण खेल स्थलमा दर्शकलाई प्रतिबन्ध लगाइएको छ। टोकियो ओलम्पिकमा ३३९ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुँदैछ।
यसका लागि ११ हजार ९१ खेलाडी खेल मैदानमा छन्। नेपालबाट पौडीमा गौरिका सिंह र एलेक्स शाह, एथ्लेटिक्समा सरस्वती चौधरी, सुटिङमा कल्पना परियार र जुडोमा सोनिया भट्टले सहभागिता जनाएका छन्।
–शेरबहादुर सिंह, महेन्द्रनगर (रासस)