स्पेनिस महारथी क्लब बार्सिलोना र लिओनल मेसी नयाँ सम्झौता गर्न सहमति नजिक पुगेको दाबी गरिएको छ।
मेसी र बार्सिलोनाबीच २०२६ सम्मका लागि सम्झौता गर्न सहमति भएको युरोपियन मिडियाहरूले दाबी गरेका हुन्।
मेसी दुई वर्षको सम्झौता गर्नुका सट्टा आधा तलब घटाएर पाँच वर्षको सम्झौता गर्न तयार भएको बिबिसीले लेखेको छ।
यता बार्सिलोनाले अर्का फरवार्ड एन्टोनी ग्रिजम्यानलाई एट्लेटिको म्याड्रिड पठाएर एट्लेटिकोका फरवार्ड सौल निगुएजलाई क्लबमा भित्र्याउने सम्झौता पनि अघि बढाएको छ।
३४ वर्षीय मेसी र बार्सिलोना बीच गत जुन ३० मा सम्झौता सकिएको थियो। जसका कारण उनी अन्य क्लबमा जान स्वतन्त्र भएका थिए।
बार्सिलोनाका अध्यक्ष जोन लोपोर्टाले मेसीसँग सम्झौता नवीकरणका लागि प्रस्ताव गर्ने र मेसीले प्रस्ताव स्विकार गर्ने विश्वास व्यक्त गर्दै आएका छन्।
सन् २००० देखि बार्सिलोनामा आबद्ध मेसीले गत वर्षको अगस्टमा आफूले बार्सिलोना छाड्न चाहेको भन्दै फ्याक्स पठाएका थिए।
तर बार्सिलोनाले ७०० मिलियन युरोको रिलिज क्लज पूरा भए मात्र मेसीले क्लब छाड्न सक्ने बताएको थियो। जसका कारण मेसी अन्य क्लबमा आबद्ध हुने बाटो कठिन बनेको थियो।
अन्य क्लबमा जाने प्रयासमा बार्सिलोना बाधक बनेपछि मेसीले आफ्नो प्रिय क्लबविरुद्ध कानुनी लडाइँमा नलड्ने भन्दै एक वर्ष बार्सिलोनामै बस्ने बताएका थिए।
मेसीले गत सिजनमा बार्सिलोनाका लागि अन्तिम खेल खेलेका थिएनन्। उनी कोपा अमेरिकाअघि छुट्टी मनाउनका लागि जाँदा एइबारविरुद्धको खेल गुमाएका थिए।
सिजनमा बार्सिलोना ला लिगामा तेस्रो भयो। बार्सिलोना २००८ पछि ला लिगामा तेस्रो भएको थियो।
बार्सिलोना तेस्रो भए पनि मेसी ला लिगाको सर्वाधिक गोलकर्ता बनेका थिए।
मेसीले बार्सिलोनासँग सन् २०१७ मा २०२१ सम्मका लागि चार वर्षे सम्झौता गरेका थिए।
मेसीले बार्सिलोनाबाट सिनियर फुटबल खेल्न थालेको १७ वर्ष पूरा भइसकेको छ।
मेसी २००० मा १३ वर्षको उमेरमा बार्सिलोनाको एकेडेमीमा आबद्ध भएका थिए भने २००४ मा सिनियर करिअर सुरू गरेका थिए।
त्यसयता उनले क्लबका लागि दर्जनौ रेकर्ड बनाएका छन्। मेसीले बार्सिलोनाका लागि सर्वाधिक ६७२ गोल गरेका छन्। उनले बार्सिलोनामा रहदा ३५ उपाधि जिते। जसमा १० ला लिगा र चार च्याम्पियन्स लिगका उपाधि छन्।
उनी ला लिगाका सर्वाधिक ४७४ गोल गर्न खेलाडी पनि हुन्।