इंग्ल्यान्ड युरो २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। मंगलबार राति भएको खेलमा जर्मनीलाई २-० गोलले पराजित गर्दै इंग्ल्यान्ड अन्तिम आठमा पुगेको हो।
घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डका लागि रहिम स्टर्लिङ र ह्यारी केनले गोल गरे।
खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।
स्टर्लिङले खेलको ७५ मिनेटमा गरेको गोलबाट इंग्ल्यान्डले खेलमा पहिले अग्रता लियो। लुक शाले दिएको पासमा उनले गोल गरेका थिए।
खेलको ८६ मिनेटमा ह्यारी केनले इंग्ल्यान्डको अग्रता दोब्बर पारेका थिए।
जर्मनीविरुद्ध इंग्ल्यान्डले ५५ वर्षपछि नकआउट चरणमा जित हात पारेको हो।
इंग्ल्यान्डले १९६६ को विश्वकपको फाइनलमा हराएपछि पहिलो पटक जर्मनीलाई नकआउट चरणमा पराजित हात गरेको हो।
वेम्बली रंगशाला ४० हजार दर्शकअघि भएको प्रतिस्पर्धामा जर्मनीका थोमस मुलरले बराबरी गोल फर्काउने अवसर खेर फालेका थिए।
उनले इंग्ल्यान्डका गोलकिपर जोर्डन पिकफोर्डसँगको वान अन वानको अवस्थामा हानेको प्रहार आउट भएको थियो।
अब सेमिफाइनल प्रवेशका लागि इंग्ल्यान्डले युक्रेन र स्विडेनबीचको खेलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।