नेदरल्यान्ड्स समूह चरणमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको छ।
समूह 'सी' को विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले सोमबार राति सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्यो।
सोमबार नेदरल्यान्डको जितमा डिपाएले खेलको २४ मिनेटमा पहिलो गोल गरे।
दोस्रो हाफमा जर्जिनियो विज्नल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकाल्न सफल भयो। उनले खेलको ५१ र ५८ मिनेटमा गरी दुई गोल गरे।
जितसँगै नेदरल्यान्ड्सले समूहमा ९ अंक जोड्यो। दोस्रो बनेको अस्ट्रियाले ६ अंक जोड्यो।
यो खेलसँगै सकिएको समूहको अर्को खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अस्ट्रिया समूह 'सी' को उपविजेताको रुपम अन्तिम १६ मा पुग्यो।
३ अंक जोडेको युक्रेन भने तेस्रो बन्यो। युक्रेनले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्नेछ।
अस्ट्रियालाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा बाउमगान्टरले खेलको २१ मिनेटमा गोल गरेका थिए।
सबै खेलमा पराजित भएको नर्थ म्यासेडोनिया भने बाहिरियो।