युरो २०२० मा विश्वविजेता फ्रान्स सम्भावित हारबाट जोगिएको छ। शनिबार हंगेरीको राजधानी बुडापेस्टमा भएको खेलमा फ्रान्सले घरेलु टिम हंगेरीसँग १-१ गोलको बराबरी खेलेको हो।
खेलमा अग्रता घरेलु टिम हंगेरीले लियो। हंगेरीका लागि पहिलो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा अटिला फियोलाले गोल गरे।
६६ मिनेटमा फ्रान्सले बराबरी गोल फर्काउन सफल भयो। फ्रान्सका लागि एन्टोनी ग्रिजम्यानले बराबरी गोल गरे।
त्यसअघि फ्रान्सका डेम्बेलेको प्रहार पोस्टमा लागेको थियो।
बराबरीसँगै फ्रान्सले समूह 'एफ' मा दुई खेलबाट चार अंक जोडेको छ। यसअघि फ्रान्सले जर्मनीलाई १-० ले हराएको थियो।
पोर्चुगल ३ अंकसहित दोस्रो स्थानमा छ। हंगेरीले भने १ अंक जोड्न सफल भएको छ।
आजको दोस्रो खेलमा पोर्चुगल र जर्मनीबीच म्युनिखमा राति ९:४५ बजे खेल हुनेछ।
पहिलो खेलमा जित हात पारेको पोर्चुगल लगातार दोस्रो जित निकाल्दै अन्तिम १६ मा पुग्ने अभियानमा छ। पहिलो खेलमा पराजित भएको जर्मनीका लागि आजको खेलमा जित निकाल्नु पर्ने दबाब छ।
जर्मनीले पोर्चुगलसँग खेलेका पछिल्ला चारै खेलमा जित हात परेको छ। दुई टिमबीच समग्रमा भएका १८ प्रतिस्पर्धमा जर्मनीले १० जित हात पारेको छ भने पाँच खेल बराबरीमा सकिएका छन्। ३ खेलमा मात्र पोर्चुगलले जित हात पारेको छ।
तेस्रो खेलमा राति १२:४५ बजे समूह 'ई' को खेलमा स्पेन र पोल्यान्डबीच प्रतिस्पर्धा हुनेछ।
सेभियामा हुने खेल दुवै टिमका लागि महत्वपूर्ण छ। किनभने पहिलो खेलमा स्पेनलाई स्विडेनले बराबरीमा रोकेको थियो। यस्तै पोल्यान्डले स्लोभाकियालाई नतिजा सुम्पिएको थियो। यसअघि समूहको खेलमा स्विडेनले स्लोभाकियालाई हराउँदै ४ अंक जोडेको थियो।
दुई देशबीच भएको १० खेल मध्ये स्पेनले ८ खेलमा जित हात पारेको छ।