फ्रेञ्च लिग वानको उपाधिको टुंगो अन्तिम खेलबाट लाग्ने भएको छ।
आइतबार राति भएको खेलमा शीर्ष स्थानको लिललाई सेन्ट इटिएनले गोलरहित बराबरीमा रोक्यो।
दोस्रो स्थानको पिएसजीले भने रेइम्सलाई ४-० गोलले पराजित गर्यो।
खेलको १०औं मिनेटमा रेइम्स १० खेलाडीमा सीमित बनेको थियो। उसका अब्देलहामिद सिधा रातो कार्ड खाँदै बाहिरिए। उनले पिएसजीका केलियन एमबाप्पेलाई फल गरेका थिए।
त्यसपछि पिएसजी सहज अवस्थामा देखियो। उसका लागि १३ मिनेटमा नेइमारले पेनाल्टीमा गोल गरेर अग्रता दिलाए।
२४ मिनेटमा एमबाप्पेले टिमको अग्रता दोब्बर पारे।
६८ मिनेटमा मार्किन्होसले र ८९ मिनेटका किनले गोल गर्दै पिएसजीलाई सानदार जित दिलाए।
अन्तिम खेलअघि शीर्ष स्थानको लिलको ८० अंक छ। दोस्रो स्थानको पिएसजीको ७९ अंक छ भने तेस्रो स्थानको मोनाकोको ७७ अंक छ।
अन्तिम खेलमा जित हात पारे लिलले उपाधि जित्नेछ। बराबरी वा हार बेहोरेमा भने जित हात पारेको पिएसजीले उपाधि जित्नेछ।