स्पेनिस ला लिगाको उपाधि होडमा रहेका शीर्ष दुई टिम एट्लेटिको म्याड्रिड र बार्सिलोनाबीचको खेल बराबरीमा सकिएको छ।
शनिबार बार्सिलोनाको मैदानमा भएको खेल गोलरहित बराबरीमा सकिएको हो।
बराबरीसँगै शीर्ष स्थानको एट्लेटिकोले अग्रता बढाउने अवसर गुमाएको छ भने बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने अवसर खेर फालेको छ।
अन्तिम तीन खेलअघि शीर्ष स्थानको एट्लेटिकोको ३५ खेलबाट ७७ अंक छ। दोस्रो स्थानको बार्सिलोनाको ७५ अंक छ।
यो बराबरीले तेस्रो स्थानको रियल म्याड्रिडलाई फाइदा पुगेको छ। रियलले ३४ खेलबाट ७४ अंक जोडेको छ।
रियलले सोमबार चौथो स्थानको सेभियासँग खेल्नेछ। सो खेलमा जित हात पारे रियलले शीर्ष स्थानको एट्लेटिकोसँग अंक बराबरी गर्नेछ।
सेभियासँग पराजित भएमा रियलको उपाधि यात्रामा धक्का लाग्नेछ भने एट्लेटिको र बार्सिलोनालाई फाइदा पुग्नेछ।