चर्को आलोचनापछि इंग्लिस प्रिमियर लिगका क्लबले युरोपियन सुपर लिग नखेल्ने निर्णय गरेका छन्।
यसअघि युरोपका बलिया मानिएका १२ वटा क्लबले आफ्नो छुट्टै लिग आयोजन गर्ने निर्णय गर्दै युरोपियन सुपर लिगको घोषणा गरेका थिए।
सुपर लिगको घोषणा भएसँगै त्यसको चर्को विरोध भएको थियो। जसका कारण प्रिमियर लिगका ६ वटै क्लबले नाम फिर्ता लिएका छन्। प्रिमियर लिगका क्लबहरू आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहम आबद्ध भएका थिए।
स्पेनिस ला लिगाबाट रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिड छन्। यस्तै इटालियन सिरि एबाट इन्टर मिलान, युभेन्ट्स र एसी मिलान सहभागी हुने बताइएको छ।
फ्रान्सको पिएसजी तथा जर्मनीबाट वायर्न म्युनिख र बोरुसिया डर्टमुन्टलाई भित्र्याउन प्रयास भएको थियो। तर वायर्न र डर्टमुन्डले लिगमा आबद्ध हुन अस्वीकार गरेका थिए।
सुपर लिग आयोजना नगर्न युरोपियन फुटबल महासंघ (युइएफए) कडा चेतावनी दिएको थियो। युइएफएले लिगमा आबद्ध खेलाडीलाई विश्वकप र युरो कपमा प्रतिबन्ध लगाउन सकिनेतर्फ पनि सचेत गराएको थियो।
युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिन सुपर लिगलाई 'अपमानजनक र स्वार्थी योजना' को संज्ञा दिँदै लिग आयोजना भए 'फुटबल प्रेमीहरूको अनुहारमा थुकेको जस्तै' हुने प्रतिक्रिया दिएका थिए।