२० क्लबबीच हुने भनिएको नयाँ क्लबस्तरीय प्रतियोगिता युरोपियन सुपर लिग विवादमा परेको छ। युरोपियन फुटबलको सर्वोच्च निकाय युरोपियन फुटबल महासंघ (युइएफए) ले सुपर लिगलाई 'निश्चित क्लबहरूको स्वार्थी परियोजना' को संज्ञा दिएको छ।
लिगमा १५ वटा स्थायी क्लब र पाँच पाहुना टिमबीच प्रतिस्पर्धा हुने बताइएको छ।
पाँच पाहुना टिमलाई घरेलु सिजनमा गरेको प्रदर्शनको आधारमा छनोट गरिनेछ।
लिगमा १२ वटा संस्थापक क्लब छन्। जसमा इंग्लिस प्रिमियर लिगका ६ वटा क्लब छन्। आर्सनल, चेल्सी, लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र टोटेनहम लिगमा आबद्ध भइसकेका छन्।
स्पेनिस ला लिगाबाट रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिको म्याड्रिड छन्। यस्तै इटालियन सिरि एबाट इन्टर मिलान, युभेन्ट्स र एसी मिलान सहभागी हुनेछन्। सुपर लिगले बाँकी तीन क्लबको नाम पनि सार्वजनिक गर्ने तयारी भइरहेको जनाएको छ।
फ्रान्सको पिएसजी तथा जर्मनीबाट वायर्न म्युनिख र बोरुसिया डर्टमुन्टलाई भित्र्याउन प्रयास भइरहेको छ। तर वायर्न र डर्टमुन्डले लिगमा आबद्ध हुन अस्वीकार गरेका छन्।
सुपर लिगको पहिलो सिजन आगामी अगस्टदेखि सुरु हुने बताइएको छ।
लिग दुई समूहमा हुनेछ। शीर्ष तीन टिम क्वार्टरफाइनलमा पुग्नेछन्। समूहमा चौथो र पाँचौ हुने टिमबीच प्लेअफ हुनेछ। प्लेअफबाट दुई टिम अन्तिम आठमा पुग्नेछन्।
सुपर लिग आयोजना नगर्न युरोपियन फुटबल महासंघ (युइएफए) कडा चेतावनी दिएको छ। युइएफले लिगमा आबद्ध खेलाडीलाई विश्वकप र युरो कपमा प्रतिबन्ध लगाउन सकिनेतर्फ पनि सचेत गराइसकेको छ।
युइएफएका अध्यक्ष अलेक्जेण्डर सेफेरिन सुपर लिगलाई 'अपमानजनक र स्वार्थी योजना' को संज्ञा दिँदै लिग आयोजना भए 'फुटबल प्रेमीहरूको अनुहारमा थुकेको जस्तै' हुने प्रतिक्रिया दिएका छन्।
युइएफएले ३६ टिमबीचको युरोपियन च्याम्पियन लिगको अवधारणा अघि सारेको अवस्था छ। यो अवस्थामा सुपर लिगको घोषणा हुँदा अध्यक्ष सेफेरिन कुद्ध बनेका छन्।
उनले भनेका छन्, 'हामी सबै यो बकवास परियोजनाको विरुद्धमा एकजुट छौं।'