एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस एससीबीच बुधबार प्रतिस्पर्धा हुँदैछ।
दशरथ रंगशालामा हुने खेल अपरान्ह ५:३० सुरू हुनेछ।
खेलअघि आर्मी क्लबका प्रशिक्षक नवीन न्यौपानेले श्रीलंका पुलिसलाई पराजित गर्दै अघिल्लो चरणमा पुग्ने लक्ष्य सुनाए।
'पहिलो चरण पार गर्न चाहान्छौं। त्यसैले जितका लागि खेल्नेछौं,' न्यौपानेले भने।
उनले आर्मीको टिम सेट राम्रो भएको पनि बताए।
श्रीलंका पुलिसलाई पराजित गरे आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ। सो खेल भने भारतमा हुनेछ।
दोस्रो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ।
प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।
दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन्। समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ।
दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ।
आर्मीका कप्तान भरत खवासले पनि घरेलु मैदानमा राम्रो खेल्ने बताए।
अघिल्लो साता भएको थ्री नेसन्स कपमा राष्ट्रिय टिममा रहेका भरतले खेल्न भने पाएका थिएनन्। अब श्रीलंका पुलिसविरुद्ध खेलेर आफू फर्म रहेको देखाउने अवसर भएको भरतको भनाइ छ।
यता श्रीलंका पुलिसका प्रशिक्षकले राम्रो नतिजा आउने आसा व्यक्त गरे। उनले टिममा रहेका तीन जना विदेशी खेलाडीबाट राम्रो खेलको अपेक्षा गरे।
श्रीलंकन टिम खेलका लागि आइतबार नेपाल आएको हो।