एएफसी कप २०२१ को प्रारम्भिक चरणअन्तर्गत त्रिभुवन आर्मी क्लब र श्रीलंका पुलिस एससीबीच दशरथ रंगशालामा हुने खेलमा दर्शकलाई प्रवेश दिइने भएको छ।
शुक्रबार गरिएको पत्रकार सम्मेलनमार्फत साधारण प्यारापिटतर्फ तीन सय र भिआइपिए प्यारापिटतर्फको मूल्य पाँच सय तोकिएको जनाइएको छ।
खेल आगामी ७ अप्रिल (चैत २५) मा दशरथ रंगशालामा अपरान्ह ५:३० बजे हुनेछ।
रंगशालामा ५० प्रतिशत दर्शकलाई मात्र प्रवेश दिनका लागि एसियाली फुटबल महासंघ (एएफसी) ले अनुमति दिएको छ।
एएफसी कप एसियाली फुटबल महासंघले आयोजना गर्ने एएफसी च्याम्पियन्स लिगपछिको दोस्रो ठूलो क्लब स्तरीय प्रतियोगिता हो।
पहिलो चरणमा जित हात पारे आर्मीले दोस्रो चरणमा भारतको बेंगलुरुसँग खेल्नेछ। सो खेल भने भारतमा हुनेछ।
दोस्रो चरणमा पनि जित हात परे आर्मीले प्ले अफमा प्रतिस्पर्धा गर्नेछ।
प्लेअफमा दोस्रो चरणमा जित हात पार्ने दुई टिमबीच प्रतिस्पर्धा हुनेछ।
प्लेअफमा जित हात पर्ने टिम समूह चरणमा प्रवेश गर्नेछ।
दक्षिण एसियाको समूह डीमा भारतको एट्लेटिको मोहन बगान, बंगलादेशको बशुन्धरा किंग्स र माल्दिभ्सको माजिया छन्।
समूहका लागि चौथो टिम प्लेअफबाट छनोट हुनेछ।
दक्षिण एसियाको समूहको खेल माल्दिभ्सको मालेमा आयोजना हुनेछ।
आर्मीले गत वर्षको लिगमा दोस्रो स्थान हात पारेको थियो। गत वर्षको फागुन पहिलो साता सकिएको लिगको अन्तिम खेलमा मच्छिन्द्र क्लबसँग पराजित भएपछि आर्मी लिगको उपाधि पहिलो पटक जित्नबाट बञ्चित बनेको थियो।
लिग जित्न नसके पनि आर्मीले क्लब लाइसेन्सका लागि मापदण्ड पूरा गरेर एएफसी क्लब लाइसेन्स प्राप्त गर्यो। यदि मच्छिन्द्रले मापदण्ड पूरा गरेको भए उसैले एएफसी कप खेल्न पाउने थियो।