मनकामना युवा क्लब रौतहटले एन्फा प्रेसिडेन्ट लिग २०७७ मा त्रिवेणी युवा क्लब लमजुङलाई शुक्रबार २–१ ले पराजित गरेको छ।
खेलमा प्रदेश नम्बर १ को सैनिक युथ क्लब झापाले बागमति प्रदेशको धादिङ समाज धादिङलाई २–० ले पराजित गरेको छ।
सैनिकको जितमा जीवन गुरुङले ३६ औं मिनेट र सुरज सिंह ठकुरीले ९३औं मिनेटमा गोल गरेका थिए।
खेलमा सैनिकका राजेश परियार म्यान अफ द म्याच घोषित भए।
मनकामनाले खेल जितेपछि एक खेल अगावै सुदूरपश्चिमको स्टार सिटी युवा क्लब कैलाली लिग च्याम्पियन बनेको छ।
शुक्रबार मनकामनाको जितमा शुवन बस्नेतले सुरुआतको नबौं मिनेटमा गोल गरेर टोलीलाइ अग्रता दिलाएका थिए।
त्यसपछि पेनाल्टी अवसरमा ५८औं मिनेटमा गोल गरेर अग्रतालाई दोब्बर बनाए। भुवन खेलको म्यान अफ द म्याचबाट पुरस्कृत भए।
५ खेल खेलेको स्टारले १३ अंक जोडेको छ । अब स्टारले आफनो अन्तिम खेल त्रिवेणीसँग खेल्नेछ।
त्यो खेलको नतिजा जे आएपनि स्टारसिटी शिर्ष स्थानमा रहँदै च्याम्पियन बनेको हो। त्रिवेणीले ५ खेलमा ३ जित २ हारको सामना गर्दै ९ अंक जोडेको छ भने मनकामनाले ५ खेलमा २ जितसहित ६ अंक बनाएको छ।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, प्रदेश नम्बर ३ को धादिङ समाज धादिङ, प्रदेश नम्बर ४ बाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, प्रदेश नम्बर ६ को लेकाली युवा क्लब जुम्ला र सुदुर पश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।
अखिल नेपाल फुटबल संघले आयोजना गरेको पहिलो प्रतियोगिता हो एन्फा प्रेसिडेन्ट लिग। यस प्रतियोगिताको शिर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।