डिफेन्डर विराज महर्जनले नेपाली राष्ट्रिय फुटबल टिमबाट संन्यास लिने भएका छन्।
राजधानीमा जारी थ्री नेसन्स कपका लागि राष्ट्रिय टिममा परेका विराजले यो प्रतियोगितालाई राष्ट्रिय टिमको अन्तिम प्रतियोगिताको रुपमा लिएको बताए।
'पछिल्लो समय टिममा नियमित पर्न सकेको छैन। टिममा नयाँ प्रतिभा आइरहेका छन्। अझ कोरोनाका कारणले नेपालको एक वर्ष बिथोलियो। अब नयाँ पुस्तालाई स्थान दिने बेला आएको छ। त्यसैले अहिले संन्यास लिने उपयुक्त समय ठानेको हुँ,' विराजले सेतोपाटीसँग भने।
विराजले राष्ट्रिय टिममा डेब्यू गरेको १३ वर्ष पुगिसकेको छ। उनले सन् २००८ मार्च २५ मा पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टिममा डेब्यू गरेका थिए।
३० वर्षीय विराज एन्फा एकेडेमीका उत्पादन हुन्। त्रिपुरेश्वरका स्थायी बासिन्दा विराजले सन् २००७ बाट थ्रीस्टार क्लबबाट व्यवसायिक फुटबल यात्रा सुरु गरेका थिए।
थ्रीस्टारबाट ९ वर्ष खेलेपछि उनी २०१६ मा मनाङ मर्स्याङ्दी क्लबमा आबद्ध भएका थिए। सन् २०१९ मा उनी मच्छिन्द्र क्लबमा पुगे।
उनले खेलेका तीन वटै क्लबबाट लिग जित्ने अवसर पाए।
राष्ट्रिय टिमबाट ७५ खेल खेलेका उनले नेपाली टिमको कप्तानी गर्ने अवसर पनि पाए। अनिल गुरुङले संन्यास लिएपछि विराज नेपाली टिमको नियमित कप्तानको भूमीका देखिए। तर टिममा नियमित स्थान बनाउन भने सकेनन्।
विराजले नेपालले तीन वटा उपाधि जित्दा नेतृत्व गरे। नेपालले बंगबन्धु गोल्डकप, १२औं साग र सोलिडारिटी कप जित्दा उनी मैदानमा कप्तानको भूमीकामा थिए।