एन्फा प्रेसिडेन्ट लिग–२०७७ अन्तर्गत मंगलबार भएको पहिलो खेलमा बागमती प्रदेश च्याम्पियन धादिङ समाजले कर्णाली प्रदेशको लिग च्याम्पियन लेकाली युवा क्लब जुम्लालाई ९–१ ले पराजित गरेको छ।
धादिङका लागि कप्तान अमिर श्रेष्ठले ४ गोल गरे। खेलको म्यान अफ दि म्याच अमिरले खेलको १७, ३६, ६० र ६२ मिनेटमा गोल गरेका थिए। यसैगरी धादिङको तर्फबाट शिशिर लेखीले ६४, ७९ र ८२ मिनेटमा गर्दै ह्याट्रिक गरे।
उमेश राईले ८९ मिनेट र बिपिन कँडेलले २४ मिनेटमा गोल गरेका थिए। लेकालीको तर्फबाट कप्तान संगम शाहीले ५५ मिनेटमा गोल गरेका थिए।
दिनको दोस्रो खेलमा लुम्बिनी प्रदेशको धम्बोझी क्लब बाँकेले गण्डकी प्रदेशको त्रिवेणी युवा क्लबलाई १–० ले पराजित गरेको छ ।
धम्बोझीको लागि पूर्णबहादुर गुरुङले ४२ औं मिनेटमा गोल गरेका थिए ।
नेपालगन्जमा सोमबारदेखि सुरु भएको लिगमा ७ टिमले प्रतिस्पर्धा गरिरहेका छन्।
चैतको १५ गते सम्म चल्ने प्रतियोगितामा प्रदेश नम्बर १ को सैनिक फुटबल क्लब झापा, प्रदेश नम्बर २ को मनकामना युवा क्लब रौतहट, बागमती प्रदेशको धादिङ समाज धादिङ, गण्डकी प्रदेशबाट त्रिवेणी युवा क्लब लमजुङ, लुम्बिनी प्रदेशबाट धम्बोझी युवा क्लब बाँके, कर्णाली प्रदेशको लेकाली युवा क्लब जुम्ला र सुदूरपश्चिम प्रदेशको स्टार सिटी युवा क्लब कैलालीले प्रतिस्पर्धा गरिरहेका छन्।
प्रतियोगिताको विजेताले १० लाख रुपैयाँ र उपविजेता टोलीले ५ लाख रुपैयाँ पाउनेछन्।
यस प्रतियोगिताको शीर्ष चार टोलीले राष्ट्रिय लिगमा प्रतिस्पर्धा गर्नेछन्।