काठमाडौं किकर्स प्रालिले आगामी शुक्रबारदेखि फुटबल क्लिनिक सञ्चालन गर्ने भएको छ।
क्लिनिकका लागि किकर्सले दीर्घकालीन योजनासहित स्काल्यान्डका ली मेनसनलाई मुख्य प्रशिक्षकको रुपमा अनुबन्धन गरेको छ।
सन् १९९४ देखि प्रशिक्षकको रुपमा स्कटल्यान्ड, अमेरिका, जापान, फिलिपिन्स र लाओसमा काम गरेका लिसँग एएफसी च्याम्पियन्स लिग र एएफसी कपमा टिम सम्हालेको अनुभव छ। उनको प्रशिक्षणमा फिलिपिन्सको ग्लोबल एफसीले एएफसी कप र एएफसी च्याम्पिन्स लिगको छनोट खेलेको थियो।
अब उनले काठमाडौंमा रहेर फुटबल खेलाडी उत्पादनका लागि काम गर्ने काठमाडौं किकर्सका अध्यक्ष नवीन पाँडेले जानकारी दिए।
ग्रासरुटदेखि व्यवसायिक खेलाडीलाई समेत प्रशिक्षण दिने गरी किकर्सले 'काठमाडौं किकर्स फुटबल क्लिनिक' शुक्रबारदेखि सुरु गर्न लागेको हो।
आगामी शुक्रबार, शनिबार र आइतबार दैनिक दुई घन्टा फुटबल क्लिनिकको आयोजना गरिनेछ। यसमा ६ देखि ९ वर्ष, १० देखि १३ वर्ष र १४ देखि १६ वर्ष गरी तीन उमेर समूहका खेलाडी प्रशिक्षणमा सहभागी हुन पाउनेछन्।
क्लिनिक कार्यक्रमपछि काठमाडौं किकर्सले समय तालिका प्रकासन गरी प्रशिक्षणका विभिन्न कार्यक्रम सञ्चालन गर्ने अध्यक्ष पाँडेले बताए।
उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले सुरु गर्न लागिएको यो कार्यक्रमको प्रशिक्षण कपअन स्पोर्ट्स सेन्टरमा सञ्चालन हुनेछ।