पोखरामा सञ्चालन भएको ‘चौथो रञ्जित गुरुङ स्मृति तथा १०औँ बगर भाइ खलक भेट्रान्स एट–ए–साइड अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’को उपाधि 'मिया सान मिया नेपाल’ले जितेको छ। मिया सान मिया जर्मन क्लब वार्यन म्युनिखको फ्यान क्लब हो।
बगर भाइ खलक पोखराको आयोजनामा यही फागुन २४ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको शनिबार सम्पन्न फाइनल खेलमा साविक विजेता टी वर्गर ललितपुरलाई ४–१ गोलअन्तरले पराजित गर्दै मिया सान मियाले उपाधिसहित रनिङ शिल्ड र नगद रु एक लाख ११ हजार १११ पुरस्कार प्राप्त गर्न सफल भयो।
उपविजेता बनेको टी वर्गरले नगद रु ५५ हजार ५५५ सहित मेडल र प्रमाणपत्रमा चित्त बुझायो।
दुवै टोलीमा पूर्व राष्ट्रिय खेलाडीको सहभागिता रहेकाले खेल रोचक रहे पनि सान मियाले प्राप्त अवसरको सदुपयोग गर्दै च्याम्पियन बन्न सफल भयो।
उपाधि विजेता टोलीका लागि नवीन न्यौपानेले र नवीन पाण्डेले समान दुई-दुई गोल गरे। टी वर्गरका नरेन्द्र लिम्बूले दोस्रो हाफमा एक गोल फर्काए। प्रतियोगितामा टी वर्गरका नरेन्द्र लिम्बू सर्वोत्कृष्ट खेलाडी हुँदै नगद रु १० हजार र ट्रफी पुरस्कार प्राप्त गरे।
प्रतियोगिताको उत्कृष्ट मिडफिल्डर मिया सान मियाका राजेश खड्की, उत्कृष्ट गोलरक्षकमा मिया सान मियाका सञ्जीव खड्की, उत्कृष्ट फरवार्डमा मिया सान मियाका कप्तान नवीन पाण्डे, उत्कृष्ट डिफेण्डरमा टी वर्गरका नरेश थापा घोषित हुँदै जनही रु पाँच हजारका दरले पुरस्कार प्राप्त गरे।
पुरस्कार रकम सामाजिक काममा
उपाधि विजेता मिया सान मिया र उपविजेता टी वर्गरले पुरस्कारवापत प्राप्त रकम सामाजिककार्यमा हस्तान्तरण गरे।
मिया सान मियाले आफ्ना टोलीका खेलाडी तथा पूर्व राष्ट्रिय खेलाडी नवीन न्यौपानेकी क्यान्सर पीडित आमाको उपचारका लागि हस्तान्तरण गरेको हो। यसैगरी उपविजेता टोलीले पोखरामा महिला र बालबालिकाको क्षेत्रमा कार्यरत सञ्जिवनी समूहलाई हस्तान्तरण गरेको छ।