नेपाली महिला राष्ट्रिय फुटबल टिमका नवनियुक्त प्रशिक्षक ग्यारी फिलिप्सले नेपाली टिम एफसी वुमेन्स एसियन कप २०२३ का लागि छनोट हुने राम्रो अवसर भएको बताएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले अस्ट्रेलियन नागरिक फिलिप्सलाई बिहीबार राष्ट्रिय महिला टिमको प्रशिक्षकमा नियुक्त गरेको थियो।
नियुक्त भएपछि एन्फासँग कुरा गर्दै फिलिप्सले नेपालले सन् २०२३ मा भारतमा हुने महिला एसियन कप खेल्ने अवसर भएको बताए।
'मैले आफ्नो जिम्मेवारीलाई गम्भीर रुपमा लिएको छु। हामीसँग विकास गर्न राम्रो अवसर छ,' उनले भने,'हामी एसियन कपमा छनोट हुने राम्रो अवसर छ।'
नेपालले एसियन कप छनोटका लागि आगामी महिनादेखि तयारी थाल्ने उनको भनाइ छ। एसियन कपको छनोट आगामी १३ देखि २५ सेप्टेम्बरमा हुँदैछ। छनोटबाट ८ टिम आगामी वर्ष भारतमा हुने एसियन कपका लागि छानिनेछन्।
'तत्काल हामी लिगमा राम्रोल खेलेका खेलाडीलाई अभ्यासमा बोलाउँछौं। त्यसबाट माथिल्लो स्तरका लागि उनीहरुलाई तयार गर्छौं,' उनले भने, 'हामीले केही फरक तरिकाले अभ्यास गर्ने आशा गरेका छौं। प्रत्येक खेलाडीको प्रतिभा थाहा पाउने कोशिस गर्नेछौं। हामी युवा खेलाडीलाई पनि स्थान दिनेछौं।'
जुनसम्ममा नेपाली राष्ट्रिय टिमलाई पूर्णरुपमा तयार पर्ने उनले बताए।
राष्ट्रिय टिमकी स्ट्राइकर सावित्रा भण्डारी साम्बा घाइते हुँदा महिला टिमलाई ठूलो घाटा भएको उनले बताए।
'साम्बाको चोटमा दु:खी छु। उनी प्रतिभाशाली खेलाडी हुन्। उनी अस्ट्रेलियाको डब्लू लिगसहित उच्चस्तरीय प्रतियोगिता खेल्न सक्ने खेलाडी हुन्। उनले नेपालको खेललाई अर्को स्तरमा पुर्याइरहेकी छिन्। उनी घाइते हुनु राष्ट्रिय टिमका लागि ठूलो घाटा हो। उनको उपचार चाडैँ होस् र चाडैं उनी खेलमा फर्कन सकुन् भन्ने चाहाना छ।'
यसअघि फिलिप्स सन् २०१९ मा एन्फाको प्राविधिक निर्देशक नियुक्त भएका थिए। त्यतिबेला उनले नेपाली राष्ट्रिय फुटबल टिम, प्रशिक्षक, प्रशिक्षण कार्यक्रम र एन्फाको अन्य प्राविधिक पक्ष हेरेका थिए।
सन् १९६३ जन्मिएका उनी अस्ट्रेलियाका पूर्व फुटबलर हुन्। उनले अस्ट्रेलियामा कम्युनिटी फुटबल एकेडेमी स्थापना गरेका थिए। उनको एकेडेमी लन्डनको किनिटिक फुटबल एकेडेमी, लिभरपुल र म्यानचेस्टर सिटीसँग पनि जोडिएको थियो।
सन् १९९७ मा फुटबलबाट संन्यास लिएपछि उनी सिड्नी ओलम्पिकका लागि प्रशिक्षक नियुक्त भएका थिए।
मलेसियाको सुपर लिगको टिमको समेत प्रशिक्षक रहेका उनले सन् २०१५ मा पपुवा न्युगिनीको महिला राष्ट्रिय टिमको प्रशिक्षकको जिम्मा पाएका थिए।