त्रिभुवन आर्मी क्लबले महिला राष्ट्रिय लिगमा बिहीबार विराटनगर महानगरपालिका मोरङलाई ७-० गोलले पराजित गरेको छ।
आर्मीको जितमा शर्मिला थापा र विमला विकले २-२ गोल गरे। विमला चौधरी, रश्मि घिसिङ र सपना लामाले १-१ गोल थपे।
जितसँगै आर्मीले अंक तालिकाको शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लबसँगको अंक दूरी २ मा झारेको छ।
आर्मीको ९ खेलबाट २२ अंक छ। आर्मीले ५४ गोल गर्दा २ गोल मात्र खाएको छ।
शीर्ष स्थानको एपिएफको ८ खेलबाट २४ अंक छ। एपिएफले ६५ गोल गर्दा कुनै गोल खाएको छैन।
अंक तालिकामा वालिङ नगरपालिका स्याङजा तेस्रो स्थानमा छ। उसले ९ खेलबाट १४ अंक जोडेको छ।
बिहीबार जित हात पारेसँगै आर्मीका प्रशिक्षक राजु तामाङले पाएको अवसर सदुपयोग गर्न सकेकोमा खुसी व्यक्त गरे।
विराटनगरका प्रशिक्षक पारस चौधरीले आर्मीसँग धेरै गोलको अपेक्षा नभएको बताए।