महिला राष्ट्रिय फुटबल लिगमा नेपाल पुलिस क्लब र वालिङ नगरपालिकाले १-१ गोलको बराबरी खेलेको छन्।
एन्फा कम्प्लेक्स सातदोबाटोमा मंगलबार पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। दोस्रो हाफको ५३ औं मिनेटमा वालिङले अग्रता लियो। उसका लागि क्यामरूनी खेलाडी मेथो एलुडिए रुथले गोल गरिन्।
खेलको ७० औं मिनेटमा पुलिसले बराबरी गोल फर्कायो। पुलिसका लागि रेखा पौडेलले गोल गरिन्। उनले वान भर्सेस वानको अवस्थामा गोल गरेकी थिइन्।
त्यसअघि पौडेलले खेलको २९ मिनेटमा पाएको अवसर खेर फालेकी थिइन्। उनले वान भर्सेस वानमा गोल गर्न गरेको प्रयास खेर गएको थियो।
वालिङका लागि मेथोले ३१ मिनेटमा गोलको प्रयासमा पुलिसकी गोलकिपर पूजा राना बाधक बनिन्।
खेलपछि पुलिसका प्रशिक्षक सन्जिव जोशीले पाएको अवसर सदुपयोग गर्न नसक्दा जित निकाल्न नसकेको बताए।
वालिङका प्रशिक्षक दिलिप थापाले विभागीय टिमसँग अंक खोस्न सफल भएकोमा खुसी व्यक्त गरे। उनले आगामी खेलमा सुधार गर्ने विश्वास व्यक्त गरे।
पुलिस अंक तालिकामा पाँच अंक जोडेर दोस्रो स्थानमा छ। वालिङ दुई अंक जोडेर पाँचौ स्थानमा छ।