राष्ट्रिय महिला लिग फुटबलमा नेपाल एपिएफ क्लबले विजयी सुरुवात गरेको छ। एपिएफले बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा चन्द्रपुर नगरपालिकालाई ६-० गोलले पराजित गरेको हो।
एपिएफको जितमा सावित्रा भण्डारी 'साम्बा'ले ह्याट्रिक गरे। उनले खेलको १४, ६२ र ७२ मिनेटमा गोल गरेर ह्याट्रिक पूरा गरेकी थिइन्।
एपिएफका लागि थप गोल अन्जली योञ्जनले २२ मिनेट, कप्तान अनिता बस्नेतले ६४ मिनेट र प्रिति राईले ८९ मिनेटमा गरिन्।
यसअघि बुधबार भएको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले गोलरहित बराबरी खेल्दै अंक बाडेका थिए।
पहिलोपटक डबल राउण्ड रोबिनको आधारमा आयोजना हुन लागेको महिला लिगमा सात टोली सहभागी छन्। जसमा तीन विभागीय टिम र चार स्थानीय तहका टिम प्रतिस्पर्धामा उत्रनेछन्।
नेपाल एपीएफ क्लब, नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी फुटबल क्लब, चौदण्डीगढी नगरपालिका, वालिङ नगरपालिका, चन्द्रपुर नगरपालिका र विराटनगर महानगरपालिकाले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।