इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डोले विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेको विषयमा सोमबारदेखि रिपोर्टहरू आइरहेका छन्।
'इटालियन सिरी ए' को खेलमा रोनाल्डोले सासुओलोविरुद्धको खेलमा एक गोल गरेका थिए। युभेन्ट्सले ३-१ गोलले जितेको सो खेलमा गोल गरेसँगै रोनाल्डोले करिअरको गोल संख्या ७५९ पुर्याए।
रोनाल्डोले स्वेदशी क्लब स्पोर्टिङ लिस्बनका लागि पाँच गोल गरेका थिए। त्यसपछि इंग्ल्यान्ड पुगेका उनले म्यानचेस्टर युनाइटेडका लागि ११८ गोल गरे। यस्तै स्पेनिस क्लब रियल म्याड्रिडका लागि ४५० गोल गरेका रोनाल्डोले युभेन्ट्सबाट ८४ गोल गरिसकेका छन्। पोर्चुगलका लागि रोनाल्डोले १०२ गोल गरेका छन्।
के रोनाल्डोले साँच्चै विश्वकै सर्वाधिक गोलकर्ताको कीर्तिमान बराबरी गरेका हुन् त?
फुटबल सम्बन्धी तथ्य राख्ने सोकर फाउन्डेसनका अनुसार विश्वकै सर्वाधिक गोलकर्ता जोसेफ बिकन हुन्।
उनले ५३० खेलमा ८०५ करिअर गोल गरेको फाउन्डेसनको दाबी छ। फाउन्डेसनका अनुसार दोस्रो स्थानका ब्राजिलका रोमारियोले ७७२ गोल र पेलेले ७६७ गोल गरेका थिए।
यो तथ्यअनुसार रोनाल्डो विश्वको सर्वाधिक गोलकर्ताको सूचीमा चौथो स्थानमा छन्।
तर बिकनले गरेका कतिपय गोल आधिकारिक नभएको दाबी गर्दै आएका छन्।
सन् २००१ मा मृत्यु भएका बिकनले पाँच क्लब र दुई देशका लागि खेलेका थिए। उनले सन् १९३१ देखि १९५५ सम्मको करिअरमा र्यापिड भियना र स्लाभिया प्रागबाट फुटबल खेले। यस्तै अस्ट्रिया र चेकोस्लाभाकिया गरी दुई देशको राष्ट्रिय जर्सी लगाए।
बिकनले भियनाको रिजर्व टिमका लागि गरेको गोलको पनि गणना गरिएको केही रिपोर्टको दाबी छ। बिकनले आधिकारिक अन्तर्राष्ट्रिय खेलको मान्यता नपाएका खेलमा गरेका गोल पनि गणना गरिएको बताइएको छ।
एक रिपोर्टका अनुसार बिकनले ७५९ आधिकारिक गोल गरेका थिए। उनले क्लब फुटबलमा ७३० र अन्तर्राष्ट्रिय खेलमा २९ गोल गरेका थिए।
त्यो रिपोर्टलाई मान्ने हो भने रोनाल्डोले सर्वाधिक गोलकर्ताको रेकर्ड बराबरी गरेका छन्।
उक्त रिपोर्टले पेलेले ७५७ र रोमारियोले ७४५ गोल गरेको उल्लेख गरेको छ। यस्तै सर्वाधिक गोलकर्ताको चौथो स्थानमा रहेका लिओनल मेसीले ७१९ गोल गरेका छन्।
तर पेले र रोमारियोले करिअरमा एक हजार भन्दा बढी गोल गरेको दाबी गरिँदै आएको छ।
केहिअघि मेसीले पेलेको रेकर्ड तोड्ने क्रममा एकै क्लबका लागि सर्वाधिक गोलको नयाँ रेकर्ड बनाएका थिए। पेलेले सान्तोसका लागि गरेको ६४३ गोलको रेकर्ड मेसीले तोडेका थिए।
तर पेलेले सान्तोसका लागि १०९१ गोल गरेको दाबी गरिदै आएको छ। मैत्रीपूर्ण खेलमा गरेको गोलसमेत गरेर उक्त तथ्य प्रस्तुत गरिएको हो।
पेलेको इन्स्टाग्रामको बायोमा 'लिडिङ गोल स्कोरर अफ अल टाइम (१२८३)' लेखेका छन्।
मैत्रीपूर्ण, आधिकारिकता नपाएका खेलमा गरेको गोल र आर्मी टिमका लागि गरेको गोल घटाउने हो भने उनले देश र क्लबका लागि गरेको गोल संख्या ७५७ हुन आउछ।
सन् २००७ मा रोमारियोले एक हजार गोलको खुसी मनाएका थिए। उनले गरेका ती गोल युवा टिम, मैत्रीपूर्ण र प्रदर्शनी खेलमा गरेका गोल समेत गरी हो।
ती गोल घटाउने हो भने रोमारियोको आधिकारिक गोल संख्या ७४५ हुन आउछ।
यो तथ्यलाई हेर्ने हो भने रोनाल्डो निकट भविष्यमा विश्वकै सर्वाधिक गोलकर्ता बन्नेछन्। तर विवादरहित सर्वाधिक गोलकर्ता भने हुनेछैनन्।