इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा रहेको लिभरपुल बराबरीमा रोकिएको छ।
आइतबार राति भएको खेलमा साविक विजेता लिभरपुललाई रेलिगेसन जोनमा रहेको वेस्ट ब्रुमले १-१ गोलको बराबरीमा रोकेको हो।
खेलमा अग्रता लिभरपुलले लिएको थियो। लिभरपुलका लागि साडियो मानेले खेलको १२ मिनेटमा गोल गरेका थिए।
खेलको ८२ मिनेटमा वेस्ट ब्रुमले बराबरी गोल फर्कायो। उसका लागि सेमि अजायीले गोल गरेका थिए।
आइतबार भएका अन्य दुई खेल पनि बराबरीमा सकिएका छन्।
टोटेनहमलाई वुल्भ्सले १-१ बराबरीमा रोक्दा वेस्ट हाम र ब्राइटनले २-२ गोलको बराबरी खेलेका छन्। यस्तै लिड्सले वर्नलीलाई १-० ले पराजित गरेको छ।
लिगमा लिभरपुल १५ खेलबाट ३२ अंक जोड्दै शीर्ष स्थानमा छ।
लिभरपुललाई बराबरीमा रोकेको वेस्ट ब्रुम ८ अंक जोडेर पुछारबाट दोस्रो स्थान अर्थात् १९औं स्थानमा छ।