युरोपियन च्याम्पियन्स लिगअन्तर्गत इंग्लिस क्लब लिभरपुल घरेलु मैदानमा पराजित भएको छ।
समूह 'डी' अन्तर्गतको खेलमा बुधबार राति भएको खेलमा लिभरपुललाई इटालियन क्लब एटलान्टाले २-० गोलले पराजित गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा एटलान्टाका लागि जोसिप इलिचिचले ६० मिनेट र रोबिन गोसेन्सले ६४ मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा डच क्लब अयाक्सले डेनमार्कको मिटिजल्यान्डलाई ३-१ गोलले पराजित गरेको छ।
समूहमा शीर्ष स्थानमा रहेको लिभरपुलले ४ खेलबाट ९ अंक जोडेको छ। दोस्रो स्थानको अयाक्स र तेस्रो स्थानाको एटलान्टाले समान ७-७ अंक जोडेका छन्। मिटिजल्यान्डले भने अंक जोड्न सकेको छैन।
यता समूह 'सी' को खेलमा इंग्लिस क्लब म्याचेस्टर सिटीले ग्रिसको ओलम्पियाकोसलाई १-० ले पराजित गरेसँगै अन्तिम १६ मा स्थान बनाएको छ। सिटीको जितमा फिल फोडेनले ३६ मिनेटमा गोल गरेका थिए।
यो समूहको अर्को खेलमा एफसी पोर्टोले मार्सेलीलाई २-० गोलले पराजित गरेको छ।
समूहमा शीर्ष स्थानको सिटीले लगातार चार खेलमा जित निकालेर १२ अंक जोडेको छ। दोस्रो स्थानको पोर्टोको ९ अंक छ भने ओलम्पियाकोसले ३ अंक जोडेको छ। पुछारको मार्सेलीले भने अंकको खाता खोल्न सकेको छैन।