लिओनल मेसी र क्रिस्टियानो रोनाल्डो युइएफए पुरुष वर्ष खेलाडीको अन्तिम सूचीमा पर्न असफल भएका छन्। दुवै खेलाडी पछिल्लो दश वर्षमा पहिलो पटक अन्तिम सूचीमा नपरेका हुन्।
अन्तिम तीन जना खेलाडीको सूचीमा केभिन डे ब्रुना (बेल्जियम–म्यानचेस्टर सिटी), रोबर्ट लेवान्डोस्की (पोल्यान्ड– वायर्न म्युनिख) र म्यानुयल नेउर (जर्मनी–वायर्न म्युनिख) परेका छन्।
युरोप ८० क्लबका प्रशिक्षक र ५५ सदस्य राष्ट्रका ५५ पत्रकारले दिएको मतको तीन खेलाडी अन्तिम सूचीमा परेका हुन्।
हाल इटालियन क्लब युभेन्ट्सबाट व्यावसायिक खेल खेलिरहेका पोर्चुगिज स्टार रोनाल्डोले नौ पटक अन्तिम सूचीमा पर्दा तीन पटक अवार्ड जितेका थिए। बार्सिलोनाका अर्जेन्टाइन फरवार्ड मेसीले पछिल्लो १० सिजनमा ६ पटक मनोयनमा स्थान बनाउदा दुई पटक अवार्ड हात पारेका थिए।
गत सिजनको च्याम्पियन्स लिगमा युभेन्ट्स अन्तिम १६ बाटै बाहिरिएको थियो। यस्तै बार्सिलोनालाई अन्तिम आठको खेलमा वायर्नले फराकिलो अन्तरले पराजित गरेको थियो।
च्याम्पियन्स लिगमा रोनाल्डोले आठ खेलमा तीन गोल गरेका थिए। यस्तै मेसीले पनि तीन गोल नै गरेका थिए।
लेवान्डोस्कीले भने फाइनलसम्म खेल्दा १५ गोल गरेका थिए। वायर्नका किपर नेउरले फाइनलमा क्लिन सिट राखेका थिए।
सन् २०१९ मा लिभरपुलका भान डाइकले अवार्ड जितेका थिए। उनले लिभरपुललाई च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
२०२० को सिजनमा भने लिभरपुल अन्तिम ३२ मा स्पेनिस क्लब एट्लेटिको म्याड्रिडसँग पराजित भएको थियो।
अवार्डको घोषणा आगामी अक्टोबर १ मा युइएफए च्याम्पियन्स लिगको समूह चरणको ड्र कार्यक्रममा गरिनेछ।