स्पेनिस क्लब बार्सिलोनाले लुइस सुआरेजलाई अर्को स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा आबद्ध हुनका लागि सहमति दिएको छ।
बार्सिलोना छाड्न चाहेका ३३ वर्षीय सुआरेजलाई फ्रि ट्रान्सफरमा एट्लेटिको जानका लागि अनुमति मिलेको हो।
यसअघि बार्सिलोनले उरुग्वेका फरवार्ड सुआरेजलाई आफ्नो प्रतिद्वन्द्वी क्लबमा जानका लागि सहमति दिएको थिएन।
सुआरेज इटालिय क्लब युभेन्ट्समा आबद्ध हुने प्रक्रिया पनि पासपोर्टका कारण रोकिएको थियो।
बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले सुआरेजलाई प्रतिद्वन्द्वी स्पेनिस क्लब जान नदिने रणनीति अपनाएका थिए।
तर सुआरेजका प्रतिनिधिले क्लबसँग कुरा गरेपछि बार्सिलोनाले उनलाई एट्लेटिकोसँग सम्झौता गर्न अनुमति दिएको हो।
यसअघि सुआरेजले अन्य क्लबमा जान नदिए मिडियामार्फत आफ्नो धारणा सार्वजनिक गर्ने चेतावनी पनि दिएका थिए।
एट्लेटिकोले अब सुआरेजका लागि ४ मिलियन युरो भन्दा बढि तिर्नेछैन।
सुआरेज र बार्सिलोनाबीच अझै एक वर्षको सम्झौता बाँकी थियो।
बार्सिलोनाका सहकर्मी स्टार खेलाडी लिओनल मेसीले क्लब छाड्ने मुड बनाएपछि सुआरेज पनि दोस्रो क्लबको खोजीमा थिए।
सुआरेज सन् २०१४ मा ७४ मिलियन पाउन्डमा इंग्लिस क्लब लिभरपुलबाट बार्सिलोनामा आबद्ध भएका थिए। त्यसयता उनले बार्सिलोनाका लागि २८३ खेल खेल्दै १९८ गोल गरे।
लिभरपुलबाट बार्सिलोना पुगेसँगै उनको करिअरले गति लिएको थियो। मेसी र नेइमारसँग उनको जोडी खुब जमेको थियो।
तीन जनाको उत्कृष्ट प्रदर्शनमा बार्सिलोनाले सन् २०१४-१५ को सिजनमा च्याम्पियन्स लिग, लिग कप र ला लिगा जितेको थियो।
त्यसबाहेक सुआरेजले थप तीन पटक ला लिगा र तीन पटक कोपा डेल रेको उपाधि उचाल्ने अवसर पाए। यस्तै उनले दुई स्पेनिस सुपर कप, युइएफए सुपर कप र क्लब विश्वकप पनि जिते।
तर पछिल्ला वर्षमा सुआरेज र मेसीले बार्सिलोनामा प्रभाव जमाउन सकेनन्। जसका कारण बार्सिलोनाले च्याम्पियन्स लिग जित्न सकेन। गत सिजन ला लिगामा बार्सिलोना चिरप्रतिद्वन्द्वी रियल म्याड्रिडसँग पछि परेको थियो।