कोरोना भाइरसका कारण स्थगित भएको इन्डोनेसियाको लिग–वान अक्टोबरदेखि सुरू हुने भएको छ।
अक्टोबर १ देखि लिग सुरू हुने भएपछि पेर्सिजा जाकर्तामा आबद्ध नेपाली राष्ट्रिय टिमका मिडफिल्डर रोहित चन्द मंगलबार इन्डोनेसिया जाँदैछन्।
रोहित मंगलबार मालिन्डो एयरबाट मलेसिया हुँदै इन्डोनेसिया पुग्ने उनका दाइ रविन्द्र चन्दले जानकारी दिए। क्लबले लिग सुरु हुन लागेको भन्दै रोहितलाई अभ्यासका लागि बोलाएको हो।
इन्डोनेसियाको सिजनको लिग तेस्रो चरण जारी रहदा गत मार्चमा लिग स्थगित भएको थियो। ६ महिनापछि हुन लागेको लिग जाभा आइल्यान्डको रंगशालामा मात्र हुनेछ।
यस्तै लिगअघि टिम अफिसियल, खेलाडी लगायतलाई स्वास्थ्य सुरक्षा सम्बन्धी सेमिनार गराइनेछ। लिगका खेलमा दर्शकलाई प्रवेश निषेध गरिएको छ।
रोहित आबद्ध पेर्सिजाले लिगमा दुई मध्ये एक खेलमा जित र एकमा बराबरी खेलेको छ। पेर्सिजा ४ अंक जोडेर अंक तालिकाको नवौं स्थानमा छ।
यसअघि रोहित कोरोनाले लिग अनिश्चित बनेपछि गत असार दोस्रो साता नेपाल फर्किएका थिए। कोरोना कारण लिग स्थगित भएपछि रोहित तीन महिना इन्डोनेसियामै बसेका थिए।
रोहितले यहि सिजन पेर्सिजा जाकर्तासँग थप २ वर्षको सम्झौता गरेका थिए। रोहित र पेर्सिजाबीच गत जनावरी १५ देखि लागु हुने सम्झौता भएको थियो।
गत वर्ष उनी मासिक करिब १० लाख रुपैयाँ (झण्डै ९ हजार अमेरिकी डलर) पेर्सिजामा आबद्ध भएका थिए। यो सिजन उनले गत वर्ष भन्दा बढी रकम लिने गरी सम्झौता गरेका थिए।
रोहितले गत सिजनमा ३७ खेल खेलका थिए। उनले २ गोल गर्दा २ पास गोलका लागि दिएका थिए।
रोहित सन् २०१७ देखि पेर्सिजामा आबद्ध छन्। नयाँ सम्झौतासँगै उनी २०२२ को जनावरीसम्म पेर्सिजामा रहनेछन्।
पेर्सिजाले २०१८ को इन्डोनेसिया लिग वान पनि जित्न सफल भएको थियो। पेर्सिजनाको उपाधिमा रोहितले उत्कृष्ट खेलेका थिए। जसकारण उनले लिग-१ को सर्वोत्कृष्ट खेलाडीको उपाधि समेत जिते।
रोहितले यसअघि सन् २०१३ देखि २०१५ सम्म पेर्सिजाबाटै खेलेका थिए। २०१६ को सिजन गुमाएका रोहित २०१७ फेरि पेर्सिजामा आबद्ध भएका थिए।
एन्फा एकेडेमिका उत्पादन रोहितले सन् २००९ मा व्यवसायिक फुटबल खेल्न सुरु गरेका थिए।
मच्छिन्द्र क्लबमा आवद्ध भएर करिअर सुरु गरेका उनी पहिलो सिजनमै उत्कृष्ट डिफेन्डर घोषित भए। मच्छिन्द्र त्यो सिजनमा ब्रिटिश गोर्खा कपको सेमिफाइनल सम्म पनि पुगेको थियो।
रोहित सन् २०१० मा भारतीय क्लब हिन्दुस्तान एरोनोटिक्स् लिमिटेड एससीमा अनुबन्धित भए। क्लबले रोहितलाई मासिक १ लाख २८ हजार रूपैयाँमा अनुबन्ध गरेको थियो।
२०१२ मा रोहित इन्डोनेसिया पुगे। त्यतिबेला उनले एफसी पेकन्बरूमा सम्झौता गरेका थिए। एक सिजन इन्डोनेसियामा खेलेपछि उनी एफसी भेस्ट्स्जेल्याण्डमा आबद्ध भए। त्यहाँ ६ महिना बिताएपछि रोहित इन्डोनेसियाको पेर्सिजा जार्कतामा आवद्ध भएका थिए।
२ सिजन जाकार्ता बिताएपछि रोहितले सन् २०१५ मा मलेसियन क्लब टि–टिम एफसी र २०१६ मा मनाङ मस्याङ्दी क्लबबाट खेले।
नेपाली राष्ट्रिय टिममा सन् २००९ मा डेब्यू गरेका उनले अहिलेसम्म ६० अन्तर्राष्ट्रिय क्याप जितिसकेका छन्।