युरोपा लिगको सेमिफाइनल समिकरण पूरा भएको छ। मंगलबार राति क्वार्टरफाइनलका दुई खेल सकिएसँगै सेमिफाइनलमा पुग्ने चारै वटा टिमको टुंगो लागेको हो।
मंगलबार राति स्पेनिस क्लब सेभियाले इंग्लिस क्लब वुल्भ्सलाई १-० गोलले पराजित गरेर अन्तिम चारमा स्थान पक्का गर्यो।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सेभियाले खेल सकिन दुई मिनेट बाँकी छदा गोल गरेको थियो। ओकाम्पोसले ८८ मिनेटमा गोल गर्दै सेभियालाई अन्तिम चारको यात्रा गराए।
यता युक्रेनी क्लब शख्तरले स्विट्जरल्यान्डको एफसी बासेललाई ४-१ ले हराएर अन्तिम चारमा स्थान पक्का गरेको छ।
शख्तरका लागि जुनियर मोराइसले दोस्रो मिनेट, टाइसनले २२ मिनेटमा, लाउरेन्सीले ७५ मिनेटमा पेनाल्टीबाट र कोर्डेरो डोस सान्तोसले ८८ मिनेटमा गोल गरे।
अब पहिलो सेमिफाइनलमा सेभियाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडसँग १६ अगस्टमा खेल्नेछ।
अर्को सेमिफाइनलमा इटालियन क्लब इन्टर मिलान र शख्तरबीच १७ अगस्टमा खेल हुनेछ।