नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान अनिल गुरूङले नेपाली फुटबलको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन्।
उनले नेपाली फुटबल क्लबहरू व्यवसायिक बन्न नसकेको र फुटबल विकेन्द्रीकरण हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
खेलाडीले बाह्रै महिना खेल्न नपाउने अवस्था रहेको भन्दै फेसबुकमा लेखेका छन्, ‘१२ महिना खेल्न नपाउने तर १८ वटा खेलाडी पाल्नु पर्ने विचरा उपत्यकाको टोलहरूको क्लबसँग न्यायको आशा गर्ने खेलाडीलाई एएफसीले कागजी दवाव र हक माग्ने अधिकार चाहिँ दिएको छ, अब आन्दोलन गरोस् कि ट्रेनिङ गरोस्?’
यस्तो छ उनको असन्तुष्टि:
नगरको नागरिक, सहरको सहरी र रंगशालाको समर्थक
व्यवसायिक क्लब, ट्रेनिङ ग्राउन्ड, एकेडेमी, २५ हजार सिट क्षमतामाथिको रंगशाला अनिवार्यजस्तै हो फुटबलका लागि।
तर एएफसीबाट धेरैपटक जरिवाना झेलेर नेपाली एमेच्योर फुटबल चलिरहेको छ।
विकेन्द्रीकरण गर्नुपर्ने फुटबल टोली र प्रत्येक जिल्लालाई जिम्मा लगाउनुपर्ने क्लबहरू संघर्षरत छन्।
१२ महिना खेल्न नपाउने तर १८ वटा खेलाडी पाल्नु पर्ने विचरा उपत्यकाको टोलहरूको क्लबसँग न्यायको आशा गर्ने खेलाडीलाई एएफसीले कागजी दवाब र हक माग्ने अधिकार चाहिँ दिएको छ, अब आन्दोलन गरोस् कि ट्रेनिङ गरोस्?
झनै मेरो साधारण करियरमा फुटबल न धेरै न थोरै खेल्न पाएँ।
नयाँ पुस्ताले त्यति पनि खेल्न पाउलान् त? त्यति धेरै अन्याय र संघर्ष गरी दिन मान्लान् त? एउटा राम्रो भारतीय फुटबलरले १ देखि ५ करोड कमाइ गर्छन् वर्षमा।
के नेपाली खेलाडी नराम्रै हुन् त?