म्यानचेस्टर सिटीले आगामी सिजनको युरोपियन च्याम्पियन्स लिग खेल्ने भएको छ।
गत फेब्रुअरीमा युरोपियन फुटबल महासंघ (युइएफए) ले म्यानचेस्टर सिटीले आर्थिक नियम तोडेको भन्दै आगामी दुई सिजनका लागि युरोपियन प्रतियोगिता खेल्न प्रतिबन्ध लगाएको थियो।
सो प्रतिबन्धविरुद्ध सिटीले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा अपिल गरेको थियो।
सो अपिलको अन्तिम फैसला सोमबार आएको हो। फैसलाले सिटीमाथि लागेको प्रतिबन्ध हटाइएको छ भने जरिवाना कम गरिएको छ।
यसअघि ३० मिलियन युरो जरिवाना गरिएकोमा अब सिटीले १० मिलियन जरिवाना तिर्नु पर्नेछ।
युइएफएको क्लब आर्थिक नियन्त्रण निकायले सिटीले सन् २०१२ देखि २०१६ को बीचमा आर्थिक नियम पालना नगरेको भन्दै दुई वर्ष युरोपियन प्रतिस्पर्धामा सहभागी हुन नपाउने र ३० मिलियन युरो जरिवाना गर्नु पर्ने निर्णय गरेको थियो।