एन्टोनी ग्रिजम्यानले सिजनका बाँकी खेल गुमाउने आशंका बढेको छ। मसलको चोटका कारण ग्रिजम्यानले सिजनका बाँकी खेल गुमाउने आशंका बढेको हो।
बार्सिलोनाका २९ वर्षीय फ्रेञ्च फरवार्ड शनिबार रियल भालडोलिडविरुद्धको खेलमा घाइते हुँदा दोस्रो हाफमा मैदान उत्रिएका थिएनन्।
दोस्रो हाफमा उनको स्थानमा लुइस सुआरेजले खेलेका थिए। उनले पहिलो हाफमा असहज महसुस गरेपछि दोस्रो हाफमा सुआरेजलाई मैदान छिराइएको थियो।
ग्रिजम्यानको आइतबार दायाँ खुट्टाको परीक्षण गरिएको र उनको मसलमा समस्या देखिएको बार्सिलोनाले पुष्टि गरेको छ।
अब उनले बिहीबार ओसासुनाविरुद्धको खेल गुमाउनेछन्। यस्तै उनले जुलाई १९ मा हुने डिपोर्टभो अलाभेसविरुद्धको खेल पनि गुमाउने सम्भावना बढेको छ।
ग्रिजम्यान गत वर्ष एट्लेटिको म्याड्रिडबाट बार्सिलोना आएका थिए। उनले बार्सिलोनाका लागि ३५ खेल खेल्दै ९ गोल गरेका छन्।