स्पेनिस ला लिगामा बार्सिलोना र एट्लेटिको म्याड्रिडले बराबरी खेल्दै अंक बाढेका छन्। मंगलबार राति भएको खेलमा बार्सिलोना र एट्लेटिकोले २-२ गोलको बराबरी खेलेर अंक बाढेका हुन्।
एट्लेटिकोका डिएगो कोस्टाले खेलको ११ मिनेटमा आत्मघाती गोल गरेपछि बार्सिलोनाले अग्रता लियो।
१९ मिनेटमा एट्लेटिकोले पेनाल्टीमार्फत बराबरी गोल फर्कायो। साउल निग्युजले एट्लेटिकोका लागि पेनाल्टीमा गोल गरेका थिए।
बार्सिलोनाले ५०औं मिनेटमा मेसीको पेनाल्टी गोलमार्फत २-१ को अग्रता लियो। सो गोल मेसीको करिअरको ७००औं गोल हो।
उनले देशका लागि ७० गोल गर्दा बार्सिलोनाका लागि ६३० गोल गरे। बार्सिलोना तथा ला लिगाका उच्च गोलकर्ता मेसीले बार्सिलोनाबाट ७२४औं खेलमा ६३०औं गोल गर्न सफल भए।
६२ मिनेटमा एट्लेटिकोले दोस्रो पटक बराबरी गोल फर्काउन सफल भयो। उसका लागि साउलले नै पेनाल्टीमा गोल गरेका थिए।
बराबरीसँगै बार्सिलोनाको उपाधि यात्रामा अर्को धक्का लागेको छ। जसको फाइदा शीर्ष स्थानको रियल म्याड्रिडलाई हुनेछ।
शीर्ष स्थानको रियलले ३२ खेलबाट ७१ अंक जोडेको छ। दोस्रो स्थानको बार्सिलोनाले एक खेल बढी खेल्दै ३३ खेलबाट ७० अंक बटुलेको छ। एट्लेटिको ५९ अंकसहित तेस्रो स्थानमा रहेको छ।