स्पेनिस ला लिगामा रियल मालोर्काले बुधबार राति रियल म्याड्रिडविरुद्धको खेलमा २-० गोलको हार बेहोर्यो। तर क्लबका एक खेलाडीले भने ८१ वर्ष पुरोनो कीर्तिमान तोड्दै सबैको ध्यान खिँचे।
'मेक्सिकन मेसी' को उपमा पाएका आक्रामक मिडफिल्डर लुका रोमेरोले ला लिगा खेल्ने सबैभन्दा कान्छा खेलाडीको कीर्तिमान बनाएका हुन्।
बुधबार राति रियल म्याड्रिडविरुद्धको खेलमा ८३ मिनेटमा डेब्यू गर्दा उनी १५ वर्ष २१९ दिन उमेरका थिए। यसअघि यो कीर्तिमान सेल्टा भिगोका फ्रान्सिस्को बाओ रोद्रिगेजको नाममा थियो। उनले सन् १९३९ मा ला लिगामा डेब्यू गर्दा १५ वर्ष २५५ दिन उमेरका थिए।
रोमेरो २००४ मा उत्तरी मेक्सिकोमा जन्मिएका थिए। उनका बुबाआमा भने अर्जेन्टिनाका हुन्। रोमेरो ३ वर्षका हुँदा उनका बुबाआमा स्पेन गएका थिए। सात वर्षको उमेर उनी स्पेनको स्पोर्टिभा सान जोर्डी क्लबमा आबद्ध भएका थिए।
सन् २०११ मा बार्सिलोनामा ट्रायल दिए पनि उनी १० वर्ष भन्दा कम उमेर भएकाले एकेडेमीमा आबद्ध हुन पाएनन्। सन् २०१५ मा उनी मालोर्कासँग आबद्ध भएका थिए। त्यसयता उनले उमेर समूहमा उत्कृष्ट खेल्दै आएका छन्।
मेक्सिकोमा अर्जेन्टाइन मातापिताबाट जन्मिएका उनी सानैं उमेरमा स्पेन आए। त्यसैले उनीसँग तीनै देशको पासपोर्ट बोक्ने र राष्ट्रिय टिमबाट खेल्ने सुविधा छ। यस्तोमा उनले अर्जेन्टिनालाई रोजेका छन्। उनले अर्जेन्टिनाको जर्सीमा यु-१५ प्रतियोगिता खेलिसकेका छन्। उनले अर्जेन्टिनाको यु१५ टिमबाट ६ खेल खेल्दा २ गोल गरेका छन्।
लिओनल मेसीको जस्तै शैलीमा खेल्ने भएका कारण उनलाई 'मेक्सिकन मेसी' को उपमा दिइएको हो।
रोमेरोको बललाई नियन्त्रण लिने शैली, ड्रिबलिङ गर्ने तरिका र विपक्षीलाई छक्काउने तरीका उत्कृष्ट भएको विश्लेषण गरिँदै आइएको छ।