अखिल नेपाल फुटबल संघ (एन्फा) को सोमबार बस्ने कार्यसमिति बैठकमा पाँच वटा एजेन्डामा छलफल हुने भएको छ। एन्फाले बैठकका एजेन्डा इमेलमार्फत आफ्ना कार्यसमिति सदस्यलाई पठाइसकेको छ।
कोरोना भाइरसका कारण फुटबल गतिविधि ठप्प भएपछि पहिलो पटक बस्न लागेको एन्फा बैठक भिडियो कन्फरेन्सबाट गरिनेछ।
अन्तर्राष्ट्रिय फुटबलको सर्वोच्च निकाय फिफाले पनि आगामी कंग्रेस भिडियो कन्फरेन्सबाट गर्न लागेको अवस्थामा एन्फाले पनि आफ्नो बैठक संचालान गर्न लागेको हो।
बैठकमा एन्फाको आगामी वर्षको बजेट कस्तो हुने विषयमा छलफल हुनेछ। एन्फाले आफूले संचालन गर्ने कार्यक्रम तथा जिल्ला र प्रदेश संघलाई उपलब्ध गराउने रकमको विषयमा बैठकमा छलफल हुनेछ।
यस्तै बैठकमा कोरोना भाइरसका कारण फुटबलमा परेको असर र प्रभावितलाई दिइने राहतको विषयमा पनि छलफल हुनेछ। कोरोना भाइरसका कारण नेपालले खेल्ने विश्वकप छनोटका खेल स्थगित भएका छन् भने राष्ट्रिय लिगसहित बी र सी डिभिजन लिग लगायतका प्रतियोगिता प्रभावित भएका छन्।
एन्फाले कोरोनाबाट प्रभावितलाई राहत दिनका लागि यसअघि नै समिति गठन गरेको थियो। केन्द्रीय सदस्य रत्नकुमार श्रेष्ठको संयोजकत्वमा गठित तीन सदस्यीय समन्वय समितिमा उत्तमकुमार भण्डारी र रुपेश अधिकारी सदस्य छन्। एन्फाका जिल्ला सदस्य, क्लबहरू, खेलाडी, रेफ्री, प्रशिक्षक, महिला संघलाई विवरण उपलब्ध गराउन निर्देशन दिइएको छ। एन्फाले सामाजिक उत्तरदायित्व समिति हुँदाहुँदै अर्को समिति गठन गरेको हो।
सोमबारको बैठकमा एन्फाको साधारणसभाको विषयमा पनि छलफल हुनेछ। यसअघि कोरोनाका कारण चैत १६ गतेका लागि तोकिएको एन्फाको साधारणसभा स्थगित भएको थियो।
अनुशासनको विषय एन्फा बैठकको अर्को एजेन्डा हो। एन्फा ललितपुरका अध्यक्ष पुरुषोत्तम थापालाई एन्फाले निलम्बन गरेको थियो। यो विषयमा एन्फा बैठकमा छलफल हुनेछ।
यो बाहेक एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले ग्रासरुट फुटबलको विषय दिएको अभिव्यक्ति पनि बैठकमा उठ्न सक्नेछ। किनकी शेर्पाको उक्त अभिव्यक्ति विवादित बनेपछि संसदमा समेत कुरा उठेको थियो।
यस्तै विविध शीर्षकमा छलफल गर्ने एन्फाको अर्को एजेन्डा छ।
यो पनि :- एन्फा अध्यक्ष शेर्पाको अभिव्यक्ति विवादमा