पूर्वराष्ट्रिय फुटबलर रञ्जित श्रेष्ठ कोरोनामुक्त भएका छन्। युएईको दुबईमा कार्यरत रञ्जितको कोरोना परीक्षणमा लगातार दुई पटकको नतिजा नेगेटिभ आएपछि उनी कोरोनामुक्त भएका हुन्।
२१ मेमा तेस्रो परीक्षणको नतिजा नेगेटिभ आएपछि रञ्जितले खुसी व्यक्त गर्दै आफू स्वास्थ्यको बारेमा सचेत भएको बताएका थिए।
२४ मेमा चौथो परीक्षणको नतिजा पनि नेभेटिभ आएको उनले सेतोपाटीलाई जानकारी दिए।
कोरोनामुक्त भएसँगै उनी सेल्फ आइसोलेसनमा बसेको स्थान छाडेर आफ्नो पुरानै बासस्थानमा गएका छन्।
यसअघि गत वैशाख २९ गते उनले आफूलाई कोरोना भएकोले सेल्फ आइसोलेसनमा बसेको सार्वजनिक गरेका थिए। त्यसपछिको दोस्रो परीक्षण पनि पोजेटिभ नतिजा आएको थियो।
'कोरोना लागेपछि आफ्नो स्वास्थ्य कतिको महत्वपूर्ण रहेछ भन्ने सन्देश पाए। रोग लागेर मर्छु भनेपछि जो पनि डराउदो रहेछ,' उनको भनाइ छ।
'यो समयमा कसरी खाना खाने भन्ने कुरा सिकियो। डाइटिङ गरेँ। नेपालमा खाने जस्तै दाल भात तरकारी खाएँ। तातोपानी खाएँ। खानामा गरम मसला प्रयोग गरेँ। वाफ ज्यादा लिने गरेँ। मलाई कोभिडले काम गर्न पर्ने समय तालिका बनायो। १२ दिनमा म अनुशासनमा हिडेँ। यसले फरक परिवर्तन ल्याएकोमा खुसी लाग्यो।'
अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका दोस्रो ब्याचका खेलाडी रञ्जित सन् २०१० मा बंगलादेशको ढाकामा भएको दक्षिण एसियाली खेलकुद (साग) नेपाली राष्ट्रिय टिममा थिए।
सो टिममा जुमानु राई, सागर थापा, विकास मल्ल, किरण चेम्जोङ, रोहित चन्दसहित विराज महर्जन, रविन श्रेष्ठ, सुमन सुवेदी, नुरराज काफ्ले र विकास सिंह क्षेत्री नेपाली टिममा थिए। यस्तै नीराजन खड्का, भोला सिलवाल, रञ्जित श्रेष्ठ, योगेश श्रेष्ठ, लक्ष्मण रुचाल, चेतन घिमिरे, सन्तोष साहुखल, अनिल गुरुङ, भरत खवास र नीराजन मल्लले ढाका सागमा खेल्ने अवसर पाएका थिए।
ए डिभिजन लिग फ्रेण्ड्सबाट खेलेका उनी पछिल्लो समय युएईमा छन्।
उनले नेपालको उमेर समूहको राष्ट्रिय टिमबाट पनि खेलेका थिए।