इटालियन सिटी एमा युभेन्टस स्टार क्रिश्चियानो रोनाल्डोले लगातार ११ खेलमा गोल गर्दै सिरी ए मा बनेको लगातार ११ गोलको कीर्तिमानसँग बराबरी गरेका छन्।
लिग अन्तरगत शनिबार एसपालविरूद्धको खेलमा उनले यो कीर्तिमानसँग बराबरी गरेका हुन्।
यो खेलमा युभेन्टसले २-१ ले विजयी भयो।
कीर्तिमानसँग बराबरी गर्ने क्रममा रोनाल्डोले खेलको ३९ औं मिनेटमा गोल गरेका थिए। टोलीको जितमा अर्को गोल भने आरोन राम्सीले गरे।
रोनाल्डोले ग्याब्रियल बाटिस्टुटा र फावियो क्वाग्लिएरेल्लाको कीर्तिमानसँग बराबरी गरेका हुन्।
यसअघि अर्जेन्टिनी ग्याब्रियलले एसएस रोमाबाट १९९४ मा र इटालियन फावियोले साम्पडोरियाबाट गत वर्ष यो कीर्तिमान बनाएका थिए।
क्लब र देशका लागि यो सिजनमा ३६ खेलमा ३६ गोल गरेका रोनाल्डोलाई मार्च १ मा हुने खेलमा इन्टर मिलानविरुद्ध गोल गर्दै सिरी ए को कीर्तिमान भंग गर्ने मौका छ।
जितपछि लिगमा युभेन्टसले दोश्रो स्थानको लाजियोसँग ४ अंकको दुरी बनाएको छ। युभेन्टसको २४ खेलबाट ६० अंक छ भने एक खेल कम खेलको लाजियोको ५६ अंक रहेको छ।