मच्छिन्द्र क्लबले जारी सहिद स्मारक ए डिभिजन लिगको उपाधि जितेको छ। शनिबार राजधानीस्थति दशरथ रंगशालामा भएको निर्णयक खेलमा शीर्ष स्थानमा रहेको त्रिभुवन आर्मी क्लबलाई १-० गोलले पराजित गर्दै मच्छिन्द्र लिग च्याम्पियन बनेको हो।
विभागीय टोली आर्मी भने आत्माघाती गोलका कारण लिग उपाधि चुम्नबाट चुक्यो। पहिलो हाफको ३३ औं मिनेटमा रन्जित धिमालले हानेको फ्री किकलाई आर्मीका विकास तामाङले हेडमार्फत बचाउ गर्न खोज्दा गोलले आफ्नै जाली चुमेपछि आर्मीले उपाधि विपक्षीलाई सुम्पिनुपर्यो।
मच्छिन्द्रभन्दा एक अंक धेरै रहेको आर्मीलाई आजको खेल बरबरी गरेपनि उपाधि जित्न पुग्नेथ्यो। समान १२ खेल खेलेको आर्मीको २९ अंक र मच्छिन्द्रको २८ अंक थियो।
डिस्को काण्डबाट ९० दिन प्रतिबन्धमा परेका स्ट्राइकर विमल घर्तीमगर पनि मच्छिन्द्रबाट मैदान उत्रेका थिए।
लिगको अघिल्लो सिजन भने मनाङ मर्स्याङ्दीले जितेको थियो। त्यो बेला पनि मच्छिन्द्रका विराज महर्जनले कप्तानी सम्हालेका थिए।