दुई साताअघि बार्सिलोनाका प्रशिक्षक बनेका क्वेक सेटिन बार्सिलोनाको प्रदर्शनमा सन्तुष्ट छैनन्।
गए राति कोपा डेल रेअन्तर्गत तेस्रो डिभिजनको क्लब इबिजाविरुद्धको खेलपछि सेटिनले असन्तुष्टि पोखेका हुन्।
खेलमा बार्सिलोनाले २-१ को संघर्षपूर्ण जित हात पारेको थियो।
'होइन, मलाई मेरो टिम मन परेको छैन,' उनले खेलपछि आफ्नो टिमको प्रदर्शनबारे भने,'पहिलो हाफमा धेरै राम्रो खेल्न सकिन्थ्यो जस्तो लाग्छ।'
उनले इबिजाले आक्रमक भएर खेलेको बताए।
'यस्तो मैदानमा हामीलाई धेरै गाह्रो हुन्छ। उनीहरु आक्रमक थिए। डिफेन्समा बढी केन्द्रित पनि। त्यसैले सजिलो थिएन।'
गए रातिको जितलाई भविष्यका लागि सान्त्वना मात्र हुन सक्ने उनको भनाइ छ।
'यदि तपाईले खराब गर्नुहुन्छ भने सुधार पनि गर्न आवश्यक हुन्छ,' उनले भने।
खेलमा बार्षिलोनाले ६७ मिनेटमा मात्र पोस्टमा प्रहार गरेको थियो। खेल अवधिभर बार्सिलोनाले तीन वटा मात्र प्रहार गर्न सक्यो।
'म सबै श्रेय इबिजालाई दिन चाहान्छु। किनकी उसले निकै राम्रो खेल खेल्यो.' उनले भने,'उनीहरु एक गोलले अगाडि थिए। त्यसैले हाम्रा लागि सबै कुरा अप्ठेरो भएको थियो।'