सिजनको सहिद स्मारक ए डिभिजन लिगका आधा भन्दा बढी खेल सकिएका छन्। सातौं चरणका खेल सकिदा त्रिभुवन आर्मी क्लबले अग्रता लिएको छ।
पहिलो पटक आधुनिक लिग जित्ने अभियानमा रहेको आर्मीले अब बाँकी ६ खेलमा मध्ये ५ खेलमा जित हात पारे लिग जित्ने लगभग पक्का हुनेछ। ५ खेल नजितेको अवस्थामा आर्मीले अन्य टिमको नतिजामा भर पर्ने हुन्छ।
अंक तालिकामा आर्मी ७ खेलबाट १६ अंक जोडेर शीर्ष स्थानमा छ। दोस्रो स्थानको मच्छिन्द्र क्लब र तेस्रो स्थानको मनाङ मर्स्याङ्दी क्लको समान १३–१३ अंक छ।
मनाङ गोलअन्तरमा पछि परेको हो। उपाधि होडमा आर्मीसँगै साविक विजेता मनाङ र मच्छिन्द्रले पनि दाबेदारी प्रस्तुत गरेका छन्।
आर्मीले लिगको पहिलो खेलमा फ्रेण्ड्सलाई २-१ गोलले पराजित गरेको थियो। दोस्रो खेलमा भने आर्मी मनाङ मर्स्याङ्दी क्लबसँग १-० गोलले पराजित भयो। त्यसपछि हिमालयन शेर्पा क्लबलाई २–० र थ्रीस्टार क्लबलाई पनि २–० ले नै हरायो। अंक तालिकाको पुछारमा रहेको सरस्वती क्लबलाई १–० गोलले पराजित गरेको आर्मी संकटासँग भने १–१ गोलको बराबरीमा रोकियो। सातौं चरणमा च्यालस युथ क्लबलाई ३–० ले हराएपछि आर्मी अंक तालिकाको शीर्ष स्थानमा उक्लियो।
अब आर्मीले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज, एनआरटी, एपिएफ, मच्छिन्द्र र जावलाखेल युथसँग खेल्न बाँकी छ। उपाधि होडमा रहेको मच्छिन्द्रलाई हराएको अवस्थामा आर्मीको उपाधि यात्रा सहज हुने देखिन्छ।
सिजनमा राष्ट्रिय खेलाडी भित्र्याएर उपाधि जित्ने लक्ष्य रहेको मच्छिन्द्रले पहिलो खेलमा ब्रिगेड ब्वाइज क्लबलाई २–० ले पराजित गरेको थियो। दोस्रो खेलमा च्यासलसँग १–१ को बराबरीमा रोकिएको मच्छिन्द्रले त्यसपछि फ्रेण्ड्सलाई ३–० र एनआरटीलाई १–० हरायो। मनाङसँग २-२ गोल बराबरी खेलेको मच्छिन्द्रले जावलाखेललाई १–० ले पराजित गर्यो। सातौं चरणको खेलमा भने मच्छिन्द्र हिमालयन शेर्पा क्लबसँग २–० ले पराजित भएको थियो।
अब मच्छिन्द्रले पुलिस, एपिएफ, थ्रीस्टार, सरस्वती र संकटासँग खेल्न बाँकी छ। मछिन्द्रका लागि उपाधि यात्रा अझै कठिन देखिन्छ। किनकी उसले उपाधि होडको आर्मीसहित बलिया मानिएका पुलिस र थ्रीस्टारसँग खेल्न बाँकी छ।
साविक विजेता मनाङ मर्स्याङ्दी क्लब पनि उपाधि होडमा कायम छ। मनाङले एपिएफलाई २–०, आर्मीलाई १–०, ब्रिगेड ब्वाइजलाई १–० ले पराजित गरेको थियो। त्यसयताका चार खेलमा भने मनाङ बराबरीमा रोकिएको छ। मनाङले फ्रेण्ड्ससँग १–१, मच्छिन्द्रसँग २–२, हिमालयन शेर्पासँग ०–० र थ्रीस्टारसँग २–२ को बराबरी खेल्दा लगातार अंक गुमायो। अंक गुमाए पनि मनाङ जारी लिगमा अपराजित एक्लो टिम हो।
अब मनाङले लिगमा सरस्वती, जावलाखेल, एनआरटी, संकटा, पुलिस र च्यासलसँग खेल्न बाँकी छ।
अंक तालिकामा ११–११ अंक जोडेका एनआरटी, थ्रीस्टार र पुलिस क्रमश: चौथो, पाँचौ र छेटौं स्थानमा छन्। शीर्ष तीन क्लबले अंक गुमाएको अवस्थामा तीन क्लबको पनि उपाधि सम्भावना देखिन्छ। तर तीन क्लबले आफ्ना खेलमा भने शतप्रतिशत नजिता निकाल्नु पर्नेछ।