भोलिदेखि सुरु हुने सहिद स्मारक 'ए' डिभिजन लिगका लागि मच्छिन्द्र क्लबले राष्ट्रिय टिममा रहेका ७ जना खेलाडी भित्र्याएको छ।
मच्छिन्द्रमा राष्ट्रिय टिमका गोलकिपर विशाल श्रेष्ठसहित सुजल श्रेष्ठ, अभिषेक रिजाल, विशाल राई, देवेन्द्र तामाङ, हेमन गुरुङ र रञ्जित धिमाल आबद्ध भएका हुन्। विशाल श्रेष्ठ, विशाल राई, हेमन गुरुङ र सुजन श्रेष्ठ मनाङ मर्स्याङ्दी क्लबबाट मच्छिन्द्र आएका हुन्।
अभिषेकले गत सिजनको लिग नेपाल पुलिस क्लबबाट खेलेका थिए भने एएफसी कप मनाङबाट खेलेका थिए। रञ्जित धिमाल थ्रीस्टारबाट मनाङ आउदा देवेन्द्र तामाङ च्यासलबाट भित्रिएका हुन्।
मच्छिन्द्रमा थ्रीस्टारबाट योगेश गुरुङ र विजय धिमाल आबद्ध भएका छन्। राष्ट्रिय टिमका पूर्व कप्तान विराज महर्जन मनाङ छाडेर मच्छिन्द्र आएका छन्। मच्छिन्द्रको कप्तानी विराजले नै गर्नेछन्।
मच्छिन्द्रले बुद्ध चेमजोङ र दिपक राईसँग पनि सम्झौता गरेको छ। यु–१९ टिमका पूर्व कप्तान रेजिन सुब्बा मच्छिन्द्रमा आएका छन्। सुब्बाले गत सिजनको लिग पुलिसबाट खेलेका थिए।
यस्तै गत सिजन थ्रीस्टारबाट खेलेका पिटर सेगुन र मनाङबाट खेलेका अडेलेजा सोमिडेसँग मच्छिन्द्रले सम्झौता गरेको छ। दुवै जना क्यामरुनका खेलाडी हुन्। क्यामरुनका आन्द्रेस नियाले पनि मच्छिन्द्रबाट खेल्नेछन्।
मच्छिन्द्रले प्रशिक्षकमा प्रवेश कटुवाललाई नियुक्त गरेको छ। एएफसी ए लाइसेन्स प्राप्त कटुवालसँग यसअघि झापा–११ को प्रशिक्षण गरेको अनुभव छ। प्रवेशले क्लबले राम्रा खेलाडी भित्र्याएको भन्दै ए डिभिजन लिग जित्ने लक्ष्य भएको बताए। क्लबले अनिल श्रेष्ठलाई व्यवस्थापकको जिम्मा दिएको छ।
मच्छिन्द्रका अध्यक्ष प्रबोधविर सिंह कंसाकारले सिजनको लिगका लागि १ करोड ७५ लाख खर्च हुने जानकारी दिए। जसमा खेलाडीको सम्झौताका लागि मात्र १ करोड खर्च भएको उनको भनाइ छ।
क्लबले लिगका लागि सान मिगेलसँग प्रायोजन सम्झौता गरेको छ। यस्तै पेपे पिजा, नेपाल टप र ३६१º भिजन सफारीले पनि मच्छिन्द्रलाई प्रायोजन गरेका छन्।